३ घन्टा लोडसेडिङ घट्ने

जनकपुर : विज्ञान प्रविधि एवम् वातावरणमन्त्री उमाकान्त झाले पूर्वाञ्चल क्षेत्रमा विद्युत् समस्या न्यूनीकरण गर्न भारतबाट विद्युत् आपूर्ति गर्ने प्राविधिक काम सुरु भइसकेकोले लोडसेडिङ घट्ने बताए ।

जनकपुरमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भारतबाट ५० मेगावट विद्युत् आपूर्तिका लागि विद्युत् प्रसारण क्षमताको विस्तार भइरहेको जानकारी दिए । विद्युत् प्रसारण क्षमताको विस्तार एक सातामा सम्पन्न हुने जानकारी दिँदै उनले भने, ‘क्षमता विस्तारपछि तीन घन्टा लोडसेडिङमा कमी आउनेछ ।’
उनले जनकपुर क्षेत्रमा रहेको विद्युत् समस्या समाधान गर्ने कार्यलाई तीव्रता दिइएको बताउँदै ३० एमभिएको मर्मत एक साताभित्रमा सम्पन्न हुने बताए । सिँचाइमन्त्री झाले तराई क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि सुनकोसीलाई मरिनमा डाइभर्ट गर्दै बाग्मती नदीमा जल प्रवाह गर्ने योजना रहेको जानकारी दिए । उनका अनुसार सो योजना कार्यान्वयन भएपछि रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका एक लाख २५ हजार हेक्टर क्षेत्रमा सिँचाइ उपलब्ध हुने छ । (सौस)

प्रतिक्रिया