पर्यटकको मन जित्दै होम–स्टे

दमौली, ८ असोज । पर्यटकीय नगरीको रूपमा परिचित बन्दीपुरमा सञ्चालित ‘बन्दीपुर सामुदायिक होमस्ट’ ले बन्दीपुर प्रस्थान गर्ने आन्तरिक तथा बाह्य पर्यटको मन जित्न सफल भएको छ । तनहुँ जिल्लाको ऐतिहासिक नगरी तथा पहाडकी रानी विविधताले परिचित बन्दीपुर होमस्टेका कारण्ँ आन्तरिक तथा बाह्य पर्यटको आर्कषकको केन्द्रविन्दु बन्न पुगेको छ ।

पर्यटन क्षेत्रको विकास र आन्तरिक तथा बह्य पर्यटकहरूलाई बन्दीपुरमा आकर्षित गरउनका लागि बन्दीपुर–३ पिपलथोकका बासिन्दाहरू मिलेर २०६८ असोज २८ गते १२ घरबाट होमस्टे सञ्चालन गरिएको थियो । बन्दीपुर आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा ती होमस्टे पर्न थालेपछि हाल होमस्टेको संख्या पनि बढेर २२ पुगेको छ । शान्त वातावरणका साथै अर्गानिकका खानेकुरा, घरपरिवारमा जस्तै घुलमिल गरी बस्न पाइने र राम्रो अतिथि सत्कार उत्कृष्ट भएकै कारण पर्यटकहरूको आर्कषण बढेको बन्दीपुर सामुदायिक होमस्टका अध्यक्ष दिलकुमारी रानाले बताइन् ।
‘बन्दीपुर आउने अधिकांश पर्यटकहरूको रोजाइ यहाँको होमस्टे पर्न थालेको छ । ’ अध्यक्ष रानाले भनिन्, ‘होमस्टे बाटै पर्यटकलाई यहाँको पर्यटकीय स्थल घुमाउने व्यवस्था छ ।’ त्यस्तै, होमस्टेमा आउने पर्यटकलाई खानामा अग्र्यानिक र स्थानीय उत्पादनलाई प्राथमिकता दिइने गरिएको उनले बताइन् । लोकल कुखुरा, खसी, कोदाको रोटी, मकै, भट्मास, गुन्द्रुकको अचार, स्थानीय स्तरमा उत्पादन गरिएको कोदोको अल्कोहन आदि खानाका परिकारको व्यवस्था गरिएको उनले बताइन् । बन्दीपुरका आधुनिक होटल तथा रिसोर्टहरू भए पनि होमस्टेको अवधारणा छुट्टै भएका कारण कुनै असर नपरेको उनको भनाइ छ ।
‘होमस्टेमा बस्ने पर्यटलाई सुरुमा सामुदायिक भवनमा राखी र अन्तक्रिया गर्ने गर्दछौँ ।’ रानाले भनिन् ‘हाम्रो सेवा बारेमा जानकारी गराउँछौँ, हाम्रो नीतिनियम सबै जानकारी गराउँछौँ अनि स्वागत, सत्कार गरी घरमा पुर्‍याउने गर्छौँ ।’ पर्यटकहरूले होमस्टेका नियमभित्र रहेर बस्नुपर्ने रहेको उनले बताइन् ।
होमस्टेको अवधारणालाई यथावत् राखी बन्दीपुरमा आउने पाहुनाले खोजेको र चाहेजस्तो सुविधा सम्पन्न बनाउन लागि रहेको पूर्वअध्यक्ष राजु बानियाँले बताए । काठमाडौँ, पोखरा, दाङ चितवन, बुटवल, झापा, गोरखा, बेँसीसहर, धादिङ, दमौलीलगायत स्थानबाट आन्तरिक पर्यटक आउने गरेको उनले बताए । केही दिनअघि सम्पर्क गरेर होमस्टेमा सहभागी हुने पर्यटकलाई स्थानीय आमा समूहले फूलमाला र अबिरले स्वागत गर्नुका साथै सांस्कृतिक नाच, लाखे नाच तथा लोकदोहोरी, झ्याउरे एवं पाहुनाले चाहना राखेर माग गरेमा अन्य समुदायका स्थानीय सास्कृतिक नृत्यहरू समेत प्रस्तुत गरिने उनले बताए ।
होमस्टमा बस्न आउने पर्यटकहरू प्याकेजमा आएको खण्डमा प्रतिव्यक्ति एक हजार मूल्य निर्धारण गरिएको छ । होमस्टेमा साधा खाना एक छाकको एक सय रुपियाँँ, सुतेको १ सय ५०, कुखुराको मासु भात खाएमा एक छाकको १ सय ८० र खसीको मासु भात खाएमा २ सय रुपियाँँ रहेको छ । त्यस्तै खाजाको ६५ रुपियाँँ मूल्य निर्धारण गरिएको छ । बन्दीपुरमा पर्यटकीय स्थलहरूमा होमस्टेबाटै घुमाउने व्यवस्था रहेको छ । जिल्लाको पर्यटकीय सम्पदाहरूको संरक्षण, प्रवद्र्धन गर्न होमस्टे व्यवसायीहरू कटिबद्ध भएर लागेका छन् ।

प्रतिक्रिया