उदार आर्थिक नीतिमा राप्रपा नेपाल

Fncci-n-Rpp-Nepalकाठमाडौं, ७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले उदार आर्थिक नीति आफ्नो पार्टीको महत्त्वपूर्ण वैचारिक स्तम्भको भएको बताएका छन । दलहरूले संविधानसभाको अर्को निर्वाचनका लागि तयार गर्ने घोषणापत्रमा समेटिनुपर्ने आर्थिक मुद्दाहरूका विषयमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा राप्रपा नेपालसँग आइतबार भएको छलफल कार्यक्रममा उनले सो कुरा बतााएका हुन् ।

सो अवसरमा थापाले निजी क्षेत्रले उठाएका अधिकांश आर्थिक मुद्दा आफ्नो पार्टीको घोषणापत्रमा समेटिएको स्पष्ट पारे । उनले समृद्धशाली नेपाल निर्माणका लागि ‘इकोनोमि फस्ट’ भन्ने मान्यता दलको रहेको निजी क्षेत्रलाई जानकारी गराए । अर्थतन्त्रको विकासका लागि आफूसँग अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना पनि थापाले बताए ।
उनले मुलुकको दीगो आर्थिक विकासका लागि निजी क्षेत्र, सरकार र आजनता सम्मिलित ‘फोर पी ’मोडलको वकालत समेत गरे । मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अगाडी सारेका हरेक कार्यक्रममा आफ्नो पार्टीको पूर्ण सहयोग रहनेमा निश्चिन्त रहन उनले आग्रह गरे ।
सो अवसरमा महासंघका अध्यक्ष सुरज वैद्य पार्टीका अध्यक्षलगायत पदाधिकारीलाई स्वागत गर्दै दलहरूले तयार गर्ने घोषणापत्रमा उठान गर्नुपर्ने न्यूनतम आर्थिक एजेन्डामा सामान धारणा तय गर्न सहज होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए । अध्यक्ष वैद्यले राजनीतिक निकास पछि मात्रै आर्थिक विकास भन्ने भावनालाई त्यागेर आर्थिक मुद्दालाई प्रमुख प्राथमिकतामा राखेर आफ्नो घोषणापत्र तयार गर्न पनि सो पार्टीलाई सुझाव दिए ।
त्यसअघि स्वागत मन्तव्य राख्दै महासंघका वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारले मुलुकको आर्थिक विकासका विषयमा राप्रपा नेपालको आर्थिक अवधारणा स्पष्ट पार्न आग्रह गरेका थिए । महासंघका उपाध्यक्ष पशुपती मुरारकाले दलहरूले तयार गर्ने चुनावी घोषणापत्रमा महासंघले दिएका सुझाव समेटिनेमा आफूहरू विश्वस्त रहेकोमा जोड दिए । महासंघले यो भन्दा अघि पनि अन्य दलसँग छलफल गरिसकेको छ ।

प्रतिक्रिया