‘रअ’सँग सम्बन्ध बढाएकै हो : दाहाल

Puspakamal-Dahalकाठमाडौं, ७ असोज । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले युद्धकालमा आवश्यक रणनीति बनाउनका लागि भारतको खुफिया एजेन्सी ‘रअ’सँग सम्बन्ध बढाएको स्वीकार गरेका छन् ।

राजधानीमा आइतबार पत्रकार सुधीर शर्माद्वारा लिखित पुस्तक ‘प्रयोगशाला’को विमोचन समारोहमा दाहालले सशस्त्र युद्धताका रणनीति बनाउन भारतका राजनीतिक दलहरूका साथै खुफिया एजेन्सी ‘रअ’सँग पनि सम्बन्ध बढाएको स्वीकार गरेका हुन् । तर, पत्रकार शर्माको पुस्तकमा भनिएझैँ त्यति धेरै नजिक भने नभएको उनले जिकिर गरे । ‘हाम्रो सम्बन्ध स्वाभाविक रूपमा ‘रअ’सँग भएको हो,’ उनले भने, ‘तर, पुस्तकमा चर्चा गरिएजस्तो होइन ।’
सशस्त्र युद्धबाट विस्तृत शान्तिसम्झौता हुँदै शान्तिपूर्ण राजनीतिमा आई प्रधानमन्त्रीको जिम्मेवारीसमेत निर्वाह गरिसकेका दाहालले युद्धताका सबैको सहयोग प्राप्त गर्न आफूहरूले देशी तथा विदेशी शक्तिहरूसँग सम्बन्ध बढाएको उल्लेख गरे । ‘नेपालको हकहितका लागि जनयुद्धलाई सफल बनाउन देशीविदेशी शक्तिसँग सम्बन्ध बढाएका हौँ,’ उनले भने, ‘शक्ति सञ्चय हुन थालेपछि जनयुद्धलाई सफल बनाउन डिल गर्नका लागि राजा, दरबार संसद्, भारत चीनसँग सम्बन्ध बढाएका हौँ ।’
उनले तत्कालीन भारतीय प्रधानमन्त्री अटलविहारी बाजपेजीसँगै चीन, अमेरिका संयुक्त राष्टसंघलाई पनि चिठी लेखेको जानकारी गराए । ‘हामीले एक दिन अटलविहारी बाजपेयीसँगै चीनका राष्ट्रपति, पार्टीका महासचिव, अमेरिकी राष्ट्रपति तथा संयुक्त राष्ट्रसंघलाई पनि सहयोगका लागि चिठी लेखेका हौँ,’ दाहालले भने, ‘तर, भारतको मात्र प्रचार गरियो । हामीले सबैलाई लेखेका हौँ ।’
उनले भारतको नेपालमाथि हुने कुनै पनि हस्तक्षेप स्वीकार नहुने बताए । ‘भारतले नेपालको सरकार, मन्त्रालय तथा कुनै पनि कूटनीतिक कुरामा हस्तक्षेप नगरे हुन्छ,’ उनले भने, ‘स्वतन्त्रता सार्वभौमसत्ताजस्ता कुरामा भारतको हस्तक्षेप हामीलाई स्वीकार्य हुन्न । त्यो आफैँ भारतका लागि घातक हुन्छ ।’
दाहालले हिंसात्मक आन्दोलनले नै परिवर्तन गर्ने भएकाले आफूले पनि त्यही रोजेको दाबी गरे । ‘विश्वमा जति पनि परिवर्तन भएका छन् ती सबै हिंसात्मक जगबाट भएका छन्,’ उनले भने, ‘त्यसैले हामीले पनि हिंसात्मक बाटो रोजेका हौँ ।’
उनले आफ्नो पार्टीको विद्रोहको रूप फेरिए पनि लक्ष्य नफेरिएको स्पष्ट पारे । ‘आफूहरूको लक्ष्य नेपाल र नेपालीको बृहत् हित भएको हुँदा विद्रोहको रूप फेरिए पनि लक्ष्य फेरिएको छैन,’ उनले भने ।
कांग्रेस नेता प्रदीप गिरीले सबै राजनीतिक दलका नेता मिलेर भारतलाई तह लगाउन सकिने धारणा व्यक्त गरे । ‘भारतलाई हामी सबै मिलेर तह लगाउन सकिन्छ । त्यसका लागि नेपालका नेताहरू एकजुट
हुनुपर्छ,’ नेता गिरीले भने, ‘नेपाललाई यहाँकै नेताहरूले बनाउने हो । कुनै वैदशिक शक्तिले होइन ।’
प्राध्यापक ध्रुवकुमारले शर्माको पुस्तकले नेपालको राजनीतिक वातावरण रअले खलबल्याएको पुष्टि गरेको उल्लेख गरे । उनले किताबमा नेपालको राजनीतिमा ‘रअ’ले कसरी निर्णायक भूमिका खेलेको हुन्छ भन्ने उल्लेख भएको जानकारी गराए ।
शर्माद्धारा लिखित उक्त पुस्तक दिल्ली–दरबार, दरबार–माओवादी सम्बन्ध र दिल्ली–माओवादीबीचको सम्बन्धमा केन्द्रित छ ।

प्रतिक्रिया