सुदूरपश्चिममा म्यादी प्रहरीका लागि दरखास्त खुल्यो

धनगढी, ६ असोज । सरकारले आसन्न संविधानसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी देशभर म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ ।

हाल उपलब्ध सुरक्षाकर्मी निर्वाचनमा अपुग हुने भएपछि सरकारले ४५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । यसैबीच सुदूरपश्चिमका नौ जिल्लाका लागि ४ हजार १ सय ४७ जना म्यादी प्रहरीका लागि भर्ना खोलिएको छ ।
योग्यता पुगेका नेपाली नागरिकलाई आफूलाई पायक पर्ने जिल्लाको प्रहरी कार्यालयमा दरखास्त दिनसक्ने सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी नारायणप्रसाद बस्ताकोटीले बताए । दरखास्त दिने अन्तिम समय असोज १४ गतेसम्म रहेको छ ।
‘म्यादी प्रहरीमा भर्ना हुने इच्छा भएकाले प्रहरी कार्यालयबाट दरखास्त फाराम लिन सक्ने व्यवस्था छ,’ डिआइजी बस्ताकोटीले भने । ‘छनौट भएकालाई १५ दिने सुरक्षा व्यवहारसम्बन्धी तालिम तथा नेपाल प्रहरीको प्रहरी जवान सरह तलब, पोसाक र रासन उपलब्ध गराइने छ ।’
म्यादी प्रहरीमा भर्ना हुन सामान्य लेखपढ गर्न जान्ने, १८ वर्ष पूरा भई ५० वर्ष ननाघेको, कुनै राजनीतिक दलसाग आबद्ध नभएको, शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त र फौजदारी अभियोग नलागेको हुनुपर्ने प्रावधान रहेको डिआइजी बस्ताकोटीले जानकारी दिए ।
सुदूरपश्चिममा म्यादी प्रहरीका लागि छनौट भएकालाई सेती अञ्चल प्रहरी कार्यालय धनगढी र महाकाली अञ्चल प्रहरी महेन्द्रनगरमा आवश्यक तालिम दिइनेछ । म्यादी प्रहरीको मुख्य काम संविधानसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउनु हो, डिआइजी बस्ताकोटीले भने ।
सबैभन्दा बढी कैलाली जिल्लाका लागि ९ सय २२ जना र सबैभन्दा कम डडेल्धुराका लागि २ सय ४८ जना म्यादी प्रहरीमा भर्ना खोलिएको छ ।
यसैगरी बाजुराका लागि ३ सय २१, अछामका लागि ५ सय ६४, बझाङका लागि ३ सय ४६, डोटीका लागि ३ सय ६५ जनाको कोटा तथा कञ्चनपुरका लागि ६ सय ३३, बैतडीका लागि ४ सय ३० र दार्चुलाका लागि ३ सय १८ जनाको कोटा रहेको छ ।
दुई महिनाका लागि खोलिएको म्यादी प्रहरीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रही पेन्सन वा उपदान प्राप्त पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, विभिन्न वैदेशिक राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त नेपाली पूर्वसुरक्षाकर्मी, निजी सुरक्षा कम्पनी अन्तर्गत काम गर्ने सुरक्षाकर्मी तथा महिलाहरूलाई विशेष प्राथमिकता दिइने सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लव विष्टले बताए ।
गत १ गते खोलिएको म्यादी प्रहरीमा भर्ना हुन सेती अञ्चल कार्यालय धनगढी र महाकाली अञ्चल प्रहरी कार्यालय महेन्द्रनगर तथा मातहतका प्रहरी कार्यालयमा दिनहुा दरखास्त फारामका लागि सर्वसाधारण आउने गरेका प्रहरीले बताएको छ ।

प्रतिक्रिया