अखिलमा नयाँ नेतृत्व चयन आज

काठमाडौ, ६ असोज । एमाले भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को राजधानीमा जारी २१औँ महाधिवेशनमा गुटवाद, डनवाद र धनवाद हाबी देखिएको छ । त्यही कारण शनिबार सकिनुपर्ने महाधिवेशन लम्बिएको छ । आज मात्र नयाँ नेतृत्व चयन हुने भएको छ ।

बिहीबार सुरु महाधिवेशन कार्यतालिकाअनुसार शनिबार नयाँ नेतृत्व चयन गदै सम्पन्न हुनुुपर्ने थियो । तर, पार्टीका नेताहरू नै आफू पक्षधरलाई नेतृत्वमा ल्याउन गुटउपगुटमा लागेपछि शनिबारसम्म चुनावी प्रक्रिया नै सुरु हुन सकेन् ।
पार्टीका नेताहरूको नाम जोडेर अखिलमा तीन प्यानल देखिएका छन् । तीनै प्यानलले आफ्नो पक्षमा जनमत जुटाउन खान–बस्नलाई महंगा होटेल तथा रेस्टुरा प्रयोग गरेपछि चुनाव थप खर्चिलोसमेत बनेको छ । उनीहरूले सुन्धारा, ठमेल, क्षेत्रपाटी, बागबजार र पुतलीसडकका महंगा–महंगा होटल र रेस्टुरा प्रयोग गरेका छन् । त्यति मात्र होइन आफूनिकट व्यक्तिलाई उम्मेदवारी दिलाउनका लागि अधिकांश विद्यार्थी नेताले सयौँको संख्यामा डनको प्रयोगसमेत गरेका छन् । उनीहरूले उम्मेदवारी घोषणास्थलमा डनहरूलाई नाराजुलुशसहित मोटरसाइकल र्‍याली पनि गराएका छन् ।
अध्यक्षको दाबीमा लक्ष्मण लम्साल, किशोरविक्रम मल्ल र नवराज पौड्याल उत्रिएका छन् । मल्ल समूहले त शनिबार
राति बागबजारस्थित आराधना पार्टी प्यालेसमा उम्मेदवारी घोषणासमेत गरेको छ । लम्साल समूहले कमलादीस्थित सिडब्ल्यु रेस्टुरामा उम्मेदवारी घोषणाको तयारी गरे पनि पद बाडफाडमा कुरा नमिलेको स्रोत बताउँछ । मल्ल समूहबाट छुट्टिएर पौडेलले शुक्रबारै अध्यक्ष पदमा एक्लो उम्मेदवारी घोषणा गरिसकेका छन् । मल्ल समूहको घोषणासभामा एमाले केन्द्रीय सदस्य कर्ण थापा, जगन्नाथ खतिवडा, अखिलका पूर्वअध्यक्ष खिमलाल भट्टराई, हिक्मत कार्की, माधव ढुंगेललगायत नेता उपस्थित थिए । पूर्वअध्यक्षहरू योगेश भट्टराई, रवीन्द्र अधिकारी, ठाकुर गैरे, रामकुमारी झाँक्रीलगायत लम्साल समूहलाई जिताउन लागिपरेका छन् ।
उनीहरू तीनै जनाले आफूलाई एमालेका शीर्ष नेताको समर्थन रहेको दाबी गरेका छन् । लम्सालले अध्यक्ष झलनाथ खनाल, मल्लले नेता केपी शर्मा ओली र पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालको समर्थन रहेको बताएका छन् ।
अध्यक्ष पदको दाबी गर्दै आएकी नवीना लामालाई लम्सालले आफ्नो प्यानलबाट महासचिव उठाएका छन् । महासचिवको दाबी गरिरहेका थोमस बास्तोलालाई भने लम्सालले उपाध्यक्ष बनाउने भएका छन् । त्यस्तै, अन्य दुई उपाध्यक्षमा लम्सालले दीपक गौतम र धुर्व राईलाई अघि सारेका छन् । लम्साल समूहले पाँच जना सचिवमा महिलातर्फ राधिका खतिवडा, आदिवासी जनजातीमा भक्तकुमारी लामा, मधेसीमा जहवारीलाल अन्सारी र दुई खुलामा गुणराज आचार्य र अब्दुल हुसेन खाँ अनि कोषध्यक्षमा नीलकण्ठ आर्चायलाई उठाउने भएको छ ।
त्यस्तै, मल्ल समूहले आफ्नो टिमबाट उपाध्यक्षमा बचनसिंह, सरोज यादव र ऐन महरलाई अघि सारेको छ । महासचिवमा रचना खड्का छिन भने खुला सचिवबाट महेश गतौला र बाबुराम पन्थी, मधेसी केटामा खुशीलाल चौधरी, महिलामा दीपा शर्मा र जनजातिबाट विवेक श्रेष्ठ परेका छन् । मल्लले कोषाध्यक्षमा रश्मी आचार्य, अनुशासन आयोगमा जीवन राई र लेखा परीक्षकमा दिलिप न्यौपानेलाई अघि बढाएका छन् ।
पौडेलले भने महासचिवमा चिरञ्जीवी पौड्याललाई अघि बढाउने बताएका छन् । उनले उपाध्यक्षमा राजकुमार राई, सिपी घर्तीलगातलाई राख्ने संभावना छ । पौडेलले पार्टी नेतृत्व नै गुटउपगुटको खेलमा लागेपछि त्यस कुराको अन्त्यका लागि आफूले उम्मेदवारीको तयारी गरेका बताएका छन् ।
कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा हुँदै आएको महाधिवेशनको बन्दसत्र लम्बिएपछि राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा सारिएको अखिलले जनाएको छ ।

प्रतिक्रिया