‘समोसा’को करामत पछि रेखालाई………..

Rekha Thapaकाठमाडौं, ५ असोज । एमाओवादीले नायिका रेखा थापालाई पर्साको क्षेत्र नम्बर एकबाट टिकट दिने सुनिश्चित गरेको छ । रेखाले अब सो क्षेत्रमा प्रत्यक्षमा उम्मेदवारी दिने छिन् ।
अध्यक्ष पुष्पकमल दाहाल, मधेश व्यूरो इन्चार्ज रामचन्द्र झा, भोजपुरा राज्य समितिका इन्चार्ज प्रभु साह र भोजपूराका संयोजक क्षेत्रबहादुर श्रेष्ठ, अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मासहितको बैठकले रेखालाई टिकट दिने सुनिश्चितता गरेको हो । टिकट नपाउने सम्भावना बढे पछि नव एमाओवादी रेखाले शीर्ष नेताहरुको हारगुहार मागेकी थिईन् ।
‘समोसा खाँदै चुनावी रणनीति बनाउँदै,’ अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष हिमाल शर्माले आफ्नो फेसबुक सन्देशमा लेखेका छन्, ‘रेखा थापा पर्सा क्षेत्र नम्बर–१ बाट एनेकपा माओवादीको उम्मेदवार पक्का ।’
अध्यक्ष शर्माले बैठकको तस्विर समेत फेसबुकमा अपलोड गरेका छन् । शनिबार मध्यान्ह सम्म सन्देश र तस्विरमा चार सय ३१ जनाले लाईक गरेका छन् । ३० जनाले शेयर गरेका छन् भने ९८ जनाले टिप्पणी लेखेका छन् ।
तस्विरमा अध्यक्ष दाहाल, उनको नजिकै नायिका रेखा, अध्यक्ष शर्मालगायतका नेताहरु छन् । टेबुलमा रहेको भाँडामा समोसा र अन्य खाने परिकार रहेका छन् । सो बैठकको फोटो खिच्न नेत तथा कार्यकर्ता भिड लागेको थियो ।
प्रत्यक्षको उम्मेदवार बन्न लागेकी नायिका थापाको चाहना गृह जिल्ला मोरङबाट उम्मेदवरी दिने थियो । रेखाले कांग्रेसका राजेन्द्रबहादुर अमात्य र तराई मधेस लोकतान्त्रिक पार्टीका विमल श्रीवास्तवसँग प्रतिस्प्रधा गर्नुपर्ने छ ।
श्रीवास्तव वीरगञ्जका पूर्व मेयर हुन् भने राजेन्द्र शहीद तेजबहादुरका छोरा हुन् । सो क्षेत्रमा अघिल्लो संविधानसभा चुनावमा एमाओवादीको जमानत जफ्त भएको थियो ।

प्रतिक्रिया