ध्वस्त पारिँदै छ, नेपाल–भारतको सांस्कृतिक पहिचान

Dirgha-Raj-Prasai‘कैलाश–मानसरोवरदेखि हिन्दमहासागरसम्म जसको राज्य र घर छ, त्यो हिन्दू हो’ भनेर लिच्छविशासनमा उल्लेख छ । (इतिहासविद् योगी नरहरिनाथ) नेपाल र भारत हिन्दूहरूका लागि पवित्र पुण्यभूमि मानिन्छ । हिमवतखण्ड नेपाल र भारतखण्ड विश्वमा दुई हिन्दू राष्ट्र हुन् । पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दू कुश, उत्तरमा कैलाश–मानसरोवर र दक्षिणमा गंगासम्मको भूभागलाई हिमवतखण्ड भनिन्छ भने गंगादेखि हिन्दमहासागरसम्मको क्षेत्र भारतखण्ड हो । ‘भारतखण्डे उत्तरायणे, स्वर्णभूमि पुण्यभूमि’ भनेर वशिष्ट ऋषिले वशिष्ट उपनिवेषमा उल्लेख गरेको कुराबाट पनि हिमवतखण्डको विषयमा थाहा हुन्छ । मनुले विध्य र हिमालको बीचको भागलाई आर्यवर्त मान्नुका साथै प्रयागदेखि सिधा उत्तर हिमालयसम्मको भागलाई ब्रम्हर्षि देशमा गणना थिए । हिमवतखण्ड नेपाल विभिन्न टुक्रामा विभाजित हुँदै आएको अवस्थामा चन्द्रगुप्त विक्रमादित्यका छोरा समुन्द्रगुप्तको प्रयागको अभिलेखमा–‘कामरूप (आसाम) र कर्कपुर (कुमाउँm र गडवालक्षेत्र सबै)को बीचको देशलाई ‘नेपाल’ भनी लेखिएको छ । हिमवतखण्ड नेपालको महत्त्वलाई भारतले ठूलो महत्त्व राख्दै आएको छ ।
समय, काल र परिस्थितिले हिमवतखण्ड र भारतखण्ड विभिन्न राज्यमा विभाजित हुने क्रम बढ्दै गयो । हिमवतखण्ड नेपालको प्रेरणास्रोत पृथ्वीनारायण शाह हुन पुगे । गोरखा एउटा राज्य थियो । यस क्षेत्रका ५४ वटा स–साना राज्यको एकीकरण गरेर पृथ्वीनारायण शाहबाट विशाल नेपाल सिर्जना गरे । पृथ्वीनारायण शाहका पुरोहित शक्तिवल्लभ अर्यालले यस पुण्यभूमिबारे भनेका थिए, ‘जौन नेपालराज्य विषये हिमाल पर्वतका कन्दरादेखि…चारैतिरबाट मुनिजनहरूले सेवा गरिएका कौसिकीका धारा वेगले बहन्छन्, जहाँ प्रख्यात भएका नीलकण्ठ विराजमान भयाका छन्, सोही नेपाल देश हो । जहाँ हिमालपर्वतकी पुत्री गुह्रेकाली विराजमान भयाकी छन्, जहाँ पूण्या भयाकी बागमती छन् जहाँ पशुपतिका प्रत्यक्ष भयाका शिवलिंग छन्, जहाँ चाँगुनारायण छन्, जहाँ सम्पूर्ण भयकन हर्‍न्या बज्रयोगिनी छन्,जहाँ पञ्च लिङ्गेश्वर पचली भैरव छन् यस्तो नेपाल देश’ भनेर उल्लेख गरेबाटै यस क्षेत्रको सांस्कृतिक धरातलको यथार्थ परिचय मिल्न जान्छ ।
यद्यपि, नेपाललगायत भारतका अनेकौँ स–साना हिन्दू राज्यलाई दण्डभेदको नीतिबाट पश्चिमाहरूले आक्रमण गर्दै यस क्षेत्रको अस्मिता ध्वस्त पार्ने मौका पाए । भारतमा हजार वर्षसम्मको मुसलमान साम्राज्य र दुई सय वर्षसम्म चलेको अंग्रेजी साम्राज्यले भारतमा हिन्दू संस्कार र पद्धति बिटुलियो । भारत स्वतन्त्र भए पनि बिटुलो भइसकेकाले हिन्दूत्वको शिर ठाडो हुन सकेन । भारतखण्ड हिन्दूराष्ट्र मानिए पनि विदेशी थिचोमिचोबाट बिटुलो भएकाले औपचारिक रूपमा हिन्दू राष्ट्र कहलिन सकेन । नेपाल कतैबाट बिटुलो भएन र जन्मदैको हिन्दू तथा बौद्ध अस्मिता जोगाएर हिन्दूअधिराज्य बनिरह्यो । पशुपतिनाथ र स्वयम्भूनाथ हिन्दू र बौद्धको पहिचान हो । नेपालको ॐ कहिले पराधीन भएन । भारतको ॐ मा पराइबाट बिटुलो भएको मानिन्छ । विश्वको सातौँ आश्चर्यमध्ये चीनको विशाल पर्खालको पश्चिमी द्वारमा चौध फुट लामो संस्कृत मन्त्र रहेको र यो मन्त्रलाई मंगोल सम्राट् कुवलाई खाँले चौधौँ शताब्दी ‘ॐ नमोभगवते …’ आदि लेखिएको र चीनको ग्रेटवालको ढोकामा महाभारतका श्लोक संस्कृत भाषामा कलापूर्ण अक्षरमा लेखिएको कुराले हिन्दूत्वको सार्वभौम महिमा उजागार गर्छ ।
वि.सं. १४ सयतिर बंगालका नबाव सुल्तान समसुद्दिनले मुसलमान पल्टन लिएर नेपालका मन्दिर, विहार तथा पशुपतिनाथको मन्दिरसमेत ध्वस्त पार्ने धृष्टता गरेका थिए । जयस्थिति मल्लले त्यसबेला मुसलमान फौजमाथि आक्रमण गरेर ३० हजार चार सय मारेको र ६ सयजति बाँचेर भागेका थिए । नेपाल सम्वत् ४७० मा कुम्भेश्वर महादेवको स्थापना गरी कोटीहोम गर्दै शुद्धशान्ति गरेर पशुपतिनाथको मन्दिरभित्र हिन्दू तथा बौद्धलाई मात्र प्रवेश गर्ने नियम चलाएका थिए । ३ सय वर्ष अगाडिदेखि पूजाआजा गरिआएका पशुपतिनाथका भट्ट पुजारीलाई भारतीय (विदेशी) भन्न मिल्दैन । किनकि ३ सय वर्ष अगाडिदेखि बसोवास गर्दै आएका भट्टहरू जुनबेला नेपाली नागरिकता लिन चाहन्छन् नागरिकता सजिलै प्राप्त गरिने संवैधानिक प्रावधान छ । यो परम्परा हो । पशुपतिनाथको पुजारी दक्षिण भारतकै ब्राह्मण हुनुपर्ने भएकाले परम्पराका लागि उनीहरू भारतीय भएरै बस्नुपरेको हो । यसरी नेपालको हिन्दू अस्मिता र वैदिक सभ्यताबाट प्रभावित भएर जर्मनका विद्वान् भोल्टेयरले भनेका थिए, ‘हिन्दूशास्त्र पश्चिमी जगत्का लागि पूर्वीय जगत्को सबैभन्दा उपहार हो ।’ बेलायतका विद्वान् जर्ज बर्नाड साले भनेका थिए, ‘हिन्दूधर्म संसारको सर्वाधिक र उदार धर्म बन्न गएको छ ।’ २५ सय वर्षअगाडि इरानको फारसिपोलिस नगरमा हस्तास्पको स्मारकको शिलालेखमा ‘हिन्दू’ र हिन्दूस दुवै उल्लेख छ । (‘इनसाइक्लोपिडिया अफ रिलिजन्स एन्ड एथिक्स’) इरान देशको फार्सी साम्प्रदायको प्राचीन ग्रन्थ ‘शातिर’मा ब्यास ऋषिको वाक्यलाई उद्धृत गरिएको छ । इशापूर्व ३ सय वर्षअगाडि चन्द्रगुप्त मौर्यको शासनकालमा मेगस्थनिज तथा फाइहानले आºनो यात्रा वृत्तान्तमा हिन्दूहरूको इमानदारी, शुद्धता, सरल र प्रतिभाशाली हुन्छन् भन्ने कुरा भारतको प्राचीन इतिहास र कौटिल्यको अर्थशास्त्रमा पनि पढ्न पाइन्छ ।
हिन्दू तथा बौद्धहरूले अमरनाथ, विश्वनाथ, कैलाश–मानसरोवरलाई शिवजीको तपोभूमिका रूपमा मान्छन् । पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर, शम्भु, ज्योतिर्लिंग आदि विभिन्न नामले पुकार्ने गरिन्छ । नेपालका राजा भारतका धाम र मन्दिरमा पुग्दा जगत्गुरु शंकराचार्यलगायत तमाम भारतीय जनताले ठूलो इज्जत गर्ने गर्छन् । नेपाल र भारतका धाम, मन्दिरमा राजाहरूको विशेषाधिकार रहनु प्राचीन परम्परा हो । भारतमा राजसंस्था समाप्त भएपछि पनि भारतका धाम र मन्दिरमा नेपालका राजाको रामेश्वर, जगन्नाथ, विश्वनाथ, बद्रीनाथ, केदारनाथ, गया, कामाक्ष कामरूप आदिमा विशिष्ट ढंगले पूजा–अर्चना गर्न पाइने विशेषाधिकार कायम रहँदै आएको हो । आसामको कामाख्या– कामरूपमा श्री ५ गिर्वाणयुद्ध विक्रम शाहको पालामा शिलालेख राखी लालमोहोरिया पण्डा खडा गरी १२ गाउँ विर्ता दिई लालमोहोर गरिदिएको थियो । भारतको रामेश्वरमा १२/१२ वर्षमा एकपटक नेपालका राजा पुग्नुपर्ने चलन छ । जोधपुरमा पनि नेपालका राजासँगको सम्बन्ध छ । भारतका कतिपय मन्दिरमा नेपालका राजाबाहेक अरू प्रवेश गर्न पाउँदैनन् । गंगोत्री, जमुनेत्री, बद्रीनाथ र केदारनाथ उत्तराञ्चलका चारधाम नेपाली स्वाभिमानले अझै गद्गद् छन् । तिरूपतिमा नेपालका राजाको विशेषाधिकार र पुख्र्यौली मठाधीश नै कायम गरिएको हुन्छ ।
नेपाल तथा भारत हिन्दूधर्म दर्शनको उद्गम हो । यहाँका सांस्कृतिक मूल्य–मान्यतालाई पराइ धर्मावलम्बीले नष्ट गर्दै आएका छन् । निधारमा टीका लगाउनु हिन्दू र बौद्धहरूको पहिचान हो भने ‘ओम नम: शिवाय‘ र ‘ओम मणि पद्मे हुम्’ हिन्दू र बौद्धहरूको मन्त्र हो । ०६३ साल पुस महिनामा माओवादीले नेतृत्व गरेको संयुक्त सरकारले नेपालको सांस्कृतिक र धार्मिक क्षेत्रमाथि आक्रमण गर्दै संस्कृतिमन्त्री गोपाल किरातीले यसलाई सांस्कृतिक क्रान्तिको सुरुआत हो भनेकाले विश्वलाई नै चिन्तित बनाएको थियो । थाहा पाएसम्म माओवादीभित्र अक्सर क्रिस्चियन समर्थक छन् । अहिले राजा पाखा लागेका बेला नेपालको अस्तित्व समाप्त पार्ने खेल प्रारम्भ भएको छ । अत: देशलाई सम्हाल्न र छिमेकी देशमा सुमधुर सम्बन्ध कायम राखेर विश्वभरमा नेपालको पहिचानसहितको अस्तित्व कायम राखेर देश बचाउन जनता जाग्नुपर्छ ।

प्रतिक्रिया