निर्वाचनका लागि मदिरा नियन्त्रण

Raksi Sewanराजविराज, ४ असोज । आगामी संविधानसभा निर्वाचनलाई ध्यानमा राखी मदिरा नियन्त्रण गर्ने प्रहरीको अभियानअन्तर्गत सप्तरी प्रहरीले ठूलो परिमाणमा अवैध मदिरा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले राजविराज नगरपालिका–५ स्थित पानीट्यांकी नजिकका विभिन्न मदिरा पसलमा छापा मारी बुधबार करिब आठ सय लिटर मदिरा बरामद गरेको हो । जिल्लाभरि अवैध मदिरा नष्ट पार्ने अभियानअनुरूप प्रहरी चौकी डिमनका प्रहरी सहायक निरीक्षक विष्णुकुमार तिमिल्सिनाको नेतृत्वमा खटिएको प्रहरी टोलीले बथनाहा गाविस–२ का घुरन सरदारको घरबाट १५० लिटर मदिरा तथा ७० लिटर कच्चापदार्थ बरामद गरेको थियो ।
प्रहरी चौकी डिमनको टोलीले नेँगडा, बनौली, डिमन, गोइठीलगायत गाविसमा रहेका मदिरा पसलमा र अर्को टोलीले तोपादेखि हनुमाननगरसम्मको सडक छेउछाउका पसलमा खानतलासी गरी दुई हजार लिटर मदिराजन्य कच्चापदार्थ नष्ट गर्नाका साथै १४० लिटर मदिरा बरामद गरेका छन् ।
अनुमति नलिई बिक्री वितरणका लागि राखिएका विभिन्न ब्रान्डका १०६ क्वाटर रक्सी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रायपुर गाविसबाट प्रहरीले पुन: आठ सय लिटर मदिराजन्य कच्चापदार्थ र ६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । सोही क्रममा मदिरा बनाउने ६ थान भाँडासमेत बरामद गरिएको छ ।

प्रतिक्रिया