सर्वसम्मत हुने सिंहको चाहना अपुरो

काठमाडौं, ३ भदौ । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहलाई काठमाडौं जिल्ला कार्यसमितिले सर्वसम्मत उम्मेदवार हुनबाट रोकेको छ ।

बुधबार जिल्ला कार्यसमितिले काठमाडौं क्षेत्र नम्बर–१ बाट दुई जनाको नाम थप गरेर पठाएपछि महामन्त्री सिंहको सर्वसम्मत हुने योजना पूरा नभएको हो । दुई साताअघि क्षेत्रीय बैठकले सिंहलाई प्रत्यक्षमा सर्वसम्मत सिफारिस गरेको भन्दै केन्द्रमा नाम पठाइएको थियो ।
उक्त निर्णयको विरोध भए पनि क्षेत्रीय समितिले बेवास्ता गरेको थियो । यद्यपि, जिल्ला कार्यसमितिमा Prakashman-Shingउजुरी परेपछि संस्थापन र असन्तुष्टबीचको विवाद सार्वजनिक भएको हो ।
विनोद भट्टराईले महामन्त्री सिंहविरुद्ध जिल्ला कार्यसमतिमा उजुरी गरेका थिए । उजुरीकर्ता विनोद सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईका भतिजा पनि हुन् ।
एक नम्बर क्षेत्रबाट सर्वसम्मत हुने सिंहको आकांक्षाका कारण राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण प्रभाव पार्नसक्ने नेताहरू उम्मेदवार हुनबाट वञ्चित भएको उपसभापति गौरी दवाडीले जानकारी दिए । सबैलाई समेट्नका लागि जिल्ला कार्यसमितिले हस्तक्षेप गरेर पहिला सिफारिस भएका उम्मेदवारका साथै अन्यलाई समेत समेटेर सुझाव र उजुरीसहित केन्द्रमा नाम पठाएको बताए ।
सर्वसम्मत भएका नेताहरूविरुद्ध उजुरी परेपछि जिल्ला कार्यसमितिले पुन: उम्मेदवारहरूको नाम थप गरेर बुधबार केन्द्रमा पठाएको उपसभापति दवाडीले बताए ।
‘क्षेत्रले उम्मेदवारको नाम पठाउँदा केही त्रुटि गरेको पायौँ,’ उनले भने, ‘राष्ट्रिय राजनीतिमा महत्त्व राख्नेलाई क्षेत्रले सिफारिस नै गरेन ।’ उपसभापति दवाडीले भने, ‘क्षेत्रको त्रुटि र कार्यालयमा आएका उजुरीलाई समेटेर पुन: केन्द्रमा उम्मेदवारहरूको नाम पठाएका हौँ ।’
काठमाडौंका सभापति भीमसेन दास प्रधानले महामन्त्री सिंहका साथै केन्द्रीय सदस्य मनमोहन भट्टराई र विनोद भट्टराईलाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरेर पठाएका छन् । उनीहरू एक नम्बर क्षेत्रकै बासिन्दा हुन् । सिंह अर्को क्षेत्रबाट सो क्षेत्रमा उम्मेदवार हुन पुगेका हुन् । अघिल्लो चुनावमा सिंहले एमालेका प्रदीप नेपाललाई पराजित गरेका थिए ।
त्यसैगरी, क्षेत्र नम्बर १ मा जिल्ला समितिले समानुपातिकमा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, अधिवक्ता प्रेमबहादुर खड्का, भिक्षु चन्द्र कृति, तेस्रोलिंगी भूमिका श्रेष्ठ, दलित नेता लालबहादुर बुर्लाकोटी, जनजाति नेता शम्भु तामाङलगायतलाई सिफारिस गरेको छ । उनीहरूलाई क्षेत्रले समानुपातिकमा समेत सिफारिस गर्न छुटाएको थियो ।
त्यसैगरी, काठमाडौंकै क्षेत्र नम्बर १० मा पनि प्रत्यक्षमा सर्वसम्मत उम्मेदवार हुने राजेन्द्र केसीको इच्छामा तुषारापात भएको छ । सभापति प्रधानले प्रत्यक्ष उम्मेदवारका लागि घनश्याम गिरीको नाम सिफारिस गरेका छन् । सो सिफारिसपछि केसीको निर्विरोध हुने सम्भावना अन्त्य भएको छ । यसअघि सो क्षेत्रबाट एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल विजयी भएका थिए ।
दश नम्बर क्षेत्रबाट समानुपातिकमा जिल्ला समितिले गोपाल श्रेष्ठ, बद्रीलाल श्रेष्ठ, सुजन सिंह, विद्यार्थी नेता प्रणय सिंह मुन्नालगायतको नाम सिफारिस गरेको छ । अघिल्लोपटक क्षेत्रीय समितिले उनीहरूको नाम सिफारिस गरेको थियो ।
उम्मेदवारको नाम चयन गर्ने विषयमा कांग्रेस नेतृत्वले तयारी गरेपछि काठमाडौंको विवाद छताछुल्ल भएको हो । सभापति प्रधानले अन्य क्षेत्रहरूमा पनि राष्ट्रिय राजनीति, समाज, व्यवसायलगायत क्षेत्रको प्रतिनिधित्व हुने गरेर उम्मेदवारहरूको नाम सिफारिस गरेका छन् । सभापति प्रधान नेता शेरबहादुरनिकटका मानिन्छन् ।
काठमाडौंको चारमा पनि विवाद
काठमाडौं : काठमाडौंको ४ नम्बर क्षेत्रमा क्षेत्रीय समितिले गलत ढंगले सिफारिस गरेको आरोप लगाउँदै सुप्रभा घिमिरेलगायतको ठूलो समूहले जिल्ला समिति र केन्द्रीय समितिमा उजुरी दिएका छन् । यसअघि सभासद् रहेकी सुप्रभालाई समानुपातिकतर्फ चौथो स्थानमा राखिएको थियो ।
केही व्यक्तिको कोठे बैठकले यसखाले निर्णय गरेको आरोप सुप्रभाले लगाएकी छिन् । बारम्बारको प्रयासपछि गगन थापा पक्षधर सुप्रभाको नाम समानुपातिकको एक नम्बरमा सिफारिस गर्न सहमत भए पनि सुप्रभाले आफूमाथि गलत निर्णय भएको दाबी गरेकी छिन् । यो निर्णयविरुद्ध महाधिवेशन प्रतिनिधि जानु घिमिरे, साधुराम खड्का, श्रीराम लामिछाने र भोला लामाछानेलगायत एक दर्जनले विरोधपत्र बुझाएको जनाइएको छ ।
महाधिवेशन प्रतिनिधि जानु घिमिरेले बैठक नै नबसी एकैपटक छापामा नाम पठाइएको बताइन् । जानुले दिएको जानकारीअनुसार पार्टी महासचिव सिंहले गगन थापालाई निर्वाचन क्षेत्र नम्बर सातमा उम्मेदवार हुन बारम्बार सुझाब दिए पनि उनले आफू महिलालाई सम्मान गर्ने र महिलाका विरुद्धमा उम्मेदवार नहुने बताएका थिए । ‘त्यसो भन्नेले आफ्नै पार्टीको महिला नेतृको विरुद्धमा लागेकोमा अचम्म लागेको छ ।’ जानुले भनिन् । (सौस)

प्रतिक्रिया