नेपाली भूमिमा भारतीय प्रहरीको छापा

Indian-Police-Bardiya-Policबर्दिया, ३ असोज । भारतीय प्रहरीको टोलीले बर्दियाको गुलरिया नगरपालिकामा बुधबार एकाबिहानै प्रवेश गरी छापा मारेको छ । भारतीय प्रहरीले हत्याका आरोपी लुकेर बसेको भन्दै गुलरिया–८ का मञ्जुलप्रसाद श्रेष्ठको घरमा स्थानीय प्रशासनसँगको समन्वयविना खानतलासी लिएको हो ।

भारतको जिल्ला प्रहरी लखिमपुर खिरीका डिएसपी उदयप्रताप सिंहको नेतृत्वमा आएको टोलीले श्रेष्ठको घरमा एकाबिहानै छापा मारेको थियो । युपी ३१ जी ००४० र अर्को नम्बर नखुलेको भारतीय नम्बर प्लेटको दुईवटा गाडीमा उनीहरू नेपाल भित्रिएका थिए । भारतीय प्रहरीको हत्या गरी फरार रहेका भनिएका भरतीय नागरिक मोना सरदार भन्ने बग्गासिंह र डालु भन्ने सचिन उर्फ लुकेर बसेको आशंकामा श्रेष्ठको घरमा खानतलासी लिएको पाइएको प्रहरी स्रोतले जनाएको छ । दुई गाडीमा सात जना युनिफर्म र सात जना सिभिल डेसका गरी १४ जनाको टोली रहेको प्रहरीले जनाएको छ ।
बर्दिया जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेन्द्रप्रसाद धमलाले सरदार श्रेष्ठको घरमा भारतीय प्रहरी हत्याका आरोपी लुकेर बसेकाले पक्राउ गर्न उनीहरूले छापा मारेको पुष्टि गरेका छन् ।
‘टोलीले नेपालमा आएपछि वा आउनुपूर्व समन्वय तथा कुनै जानकारी भने गराएन,’ डिएसपी धमलाले भने । सोधपुछका लागि आउन पाए पनि छापा मार्नका लागि आउन नपाइने धमलाले बताए ।
बर्दियाका सिडिओ डा. मानबहादुर विकले भारतका खिरी जिल्लाका समकक्षीलाई घटनाको जानकारी गराएको उल्लेख गर्दै उनले त्यस घटनाप्रति माफी मागेको बताए । अन्तर्राष्ट्रिय मान्यताअनुसार दुई देशको प्रशासनिक समन्वय गरेर काम गर्न सकिए पनि युनिफर्ममा आएर छापा मार्न नपाइने सिडिओ विकले स्पष्ट पारे । घटनामा को दोषी रहेको भन्ने विषयमा छानबिन गरिने उनको भनाइ छ ।
उक्त घटनापछि जिल्ला प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएका श्रेष्ठले आफूलाई भारतीय साथीले ‘यी केटाहरूलाई दुई/चार दिन नेपाल घुमाइदिनुपर्‍यो’ भन्दै पठाएकाले आफ्नो घर ल्याएको बताए । उनीहरूबारे आफू जानकार नरहेको दाबी गर्दै उनले भने, ‘ती व्यक्तिहरूबारे मलाई केही थाहा छैन । मेरा भारतीय साथीले घुमाउन पठाएकाले मात्रै ल्याएको हँु । मलाई फसाउने षड्यन्त्र भएको छ ।’ उनले औषधि गर्न भारत जाँदा ती साथीसँग पनि चिनजान भएको उल्लेख गरे ।
श्रेष्ठकी छोरी छायाले हाम्रो घरमा मंगलबार साँझ उनका बुबासँग अन्दाजी ३०/३५ वर्षका दुई व्यक्ति आएको जानकारी दिँदै बिहान भारतीय प्रहरी आएपछि भागेको बताइन् ।
स्थानीय बासिन्दा मणि शर्माले यस घटनाबाट भारतको दादागिरी पुष्टि भएको बताए । भारतीय प्रहरीले एकाबिहानै छिरेर नेपालमा छापा मार्नु हेपाहा प्रवृत्ति भएको उल्लेख गर्दै उनले भने, ‘भारतीय प्रहरीको यस्तो व्यवहारबाट स्थानीयवासी त्रसित छौँ ।’
भारतीय सीमाबाट करिब आठ किमीभित्र आएर छापा मार्दासमेत पत्तो नपाएको भन्दै प्रहरी प्रशासनप्रति उनले आक्रोश व्यक्त गरे । घटनाका सम्बन्धमा जिल्लामा क्रियाशील राजनीतिक दलहरूले विज्ञप्ति निकालेर भत्र्सना गरेका छन् । साथै, घटनाको विरोधमा बिहीबार दिउँसो ४ बजे कोणसभा गर्ने कार्यक्रम तय गरेको नेकपा–माओवादी बर्दियाका सेक्रेटरी द्रव्य शाह ‘सुमन’ले बताए ।

नचिनेका दुई व्यक्ति बास बसेका थिए
बिहान साढे ६ बजेको हुँदो हो । म उठेर ब्रस गर्दै घरअगाडिको बाटोमा उभिएकी थिएँ । बुबा त्यसअघि नै मर्निङवाकमा जानुभएको थियो । अरू आ–आफ्नो कोठामा सुतिरहेका थिए । घरअगाडि एक्कासी दुईवटा भ्यान रोकिए । जसमा भारतीय प्रहरीहरू थिए । तीन जना सरासर घरभित्र आए भने बाँकी बाहिर नै बसे । उनीहरूले घरमा खानतलासी गरे । एउटा कोठामा बुहारी र अर्को कोठामा दुईवटी बहिनी Chhanya-Shresthaसुतिरहेका थिए । मैले बहिनीहरू र बुहारी सुतिरहेका छन् भने । उनीहरूले ती कोठा पनि खोल्न भने । मैले बहिनीहरू र बुहारीहरूलाई ढोका खोल्न भने । उनीहरूले खोले र भारतीय प्रहरीले खानतलासी गरे । हामी त अवाक् भयौँ ।
हाम्रो घरमा हिजो साँझ बुबासँग अन्दाजी ३०/३५ वर्षका दुई व्यक्ति आएका थिए । उनीहरूलाई बेलुका खाना खुवाएर सुताएका थियौँ । बुबासँग आएकाले मैले सोधीखोजी गरिनँ । बिहान भारतीय प्रहरी आउँदा एक जना धारामा नुहाउँदै थियो । अर्को व्यक्ति नुहाएर कोठामा गइसकेको थियो । नुहाइरहेको व्यक्तिलाई भारतीय प्रहरीले देखेको पनि हो तर केही गरेन । अर्कोले भित्रबाट कोठा बन्द गरेको थियो । त्यो कोठा पनि खोल्न भने । मैले तपाईंहरूले नै खोल्न भन्नुस् भने । उसले खोल्न भनेर घरनजिकैको बाटोमा गयो । त्यतिखेरसम्म पछाडिबाट दुवै जना भागिसकेका थिए ।
अहिले बुबालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा राखेको छ । तिनी मान्छेहरूलाई खोजेर ल्याऊ अनि छोड्छाँ भनेका छन् । हामीले नचिनेको मान्छेलाई कसरी खोजेर ल्याउने । यो बुबालाई फसाउने षड्यन्त्रबाहेक अरू केही होइन ।

आतंकवादीलाई नेपालको पनि सहयोग : भारत
काठमाडौं : भारतीय गुप्तचर संस्था नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआइए)ले नेपाल र पाकिस्तानले आतंकवादी संगठन इन्डियन मुजाहिद्दिनलाई सहयोग गरेको आरोप लगाएको छ ।
एनआइएले मुजाहिद्दिन समूहका व्यक्तिलाई आतंकवादीको प्रशिक्षक, भर्ना, आर्थिक तथा प्राविधिक सहयोग नेपाल र पाकिस्तानबाट हुने गरेको दाबी गरेको हो । केही समयअघि पक्राउ परेका मुजाहिद्दिन समूहका सदस्य यासिन भट्कल र अहमत सिदुप्पाविरुद्ध दिल्ली अदालतमा दायर आरोपपत्रमा यस्तो Indian flagदाबी गरिएको छ । उक्त आरोपपत्र भट्कल र अहमतको बयानका आधारमा तयार पारेको उल्लेख गर्दै मुजाहिद्दिनलाई संरक्षण नेपाल र पाकिस्तानबाट हुने गरेको दाबी एनआइएले गरेको छ ।
यी दुवैले आफूलाई नेपाली र पाकिस्तानीले सहयोग गरेको बयान भारतीय प्रहरीसमक्ष दिएको उल्लेखसमेत गरिएको छ । गत फेब्रुअरीमा भट्कल हैदराबादबाट पक्राउ परेका थिए । उनी फेब्रुअरीे विस्फोटका मुख्य योजनाकार मानिन्छन् ।
मुजाहिद्दिनका सहसंस्थापक रियाज भट्कल र इकबाल भट्कललाई पाकिस्तानी गुप्तचर संस्था आइएसआईले शरण दिएको दाबी एनआइएको छ । भारतीय प्रहरीले भट्कल नेपाल भारतको सीमाक्षेत्रबाट पक्राउ पनि परेका थिए ।

 

प्रतिक्रिया