सफल पोखरा कप कात्तिकमा

पोखरा, २ असोज । मोफसलमा चर्चित सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करण ५ कात्तिकदेखि पोखरामा हुने भएको छ । पोखरा रंगशालामा १६ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी चारसहित १२ टिमको सहभागिता रहने मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएको छ ।

प्रतियोगितामा अस्ट्रेलियाको मेलवर्नबाट र हङकङबाट एक–एक टिमका साथै सार्क राष्ट्रबाट दुई विदेशी टोली समावेश गरिने छन् । टिम प्रतिस्पर्धाका लागि पोखरा रंगशाला उतारिने एन्फा कास्कीका अध्यक्ष गोपी भट्टराईले जानकारी दिए । अस्ट्रेलियाको यति एफसी र हङकङबाट नेपलिज फुटबल एसोसिएसन आउने निश्चित भइसकेको तर सार्क राष्ट्रका दुई टिमको अहिले नै टुंगो नलागेको कास्की फुटबल संघका अध्यक्ष गोपी भट्टराईले बताए । प्रतियोगिताको तेस्रो संस्करणमा पुरस्कार राशिमा वृद्धि गरिएको आर्थिक उपसमितका संयोजक मदन केसीले जानकारी दिए । उनका अनुसार यसपालि प्रथम हुनेलाई ३ लाख ५५ हजार र दोस्रो हुनेलाई २ लाख १ हजार प्रदान गरिने भएको छ ।
त्यस्तै, विभिन्न विधाका खेलडीलाई पनि नगदसहित पुरस्कार प्रदान गरिने सो अवसरमा जानकारी दिइयो ।
गतवर्षको उपाधि विजेता लक्ष्मी हुन्डाई मनाङमस्र्याङ्दीे क्लबले ३ लाख ५ हजार रुपियाँ जितेको थियो । उपविजेता मछिन्द्रले एक लाख ५० हजारमा चित्त बुझाएको थियो ।
एन्फा कास्कीले गत वर्षदेखि कास्की जिल्लाको उत्कृष्ट वर्ष खेलाडी र खेलकुद विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने एक जना पत्रकारलाई समेत पुरस्कार प्रदान गर्न सुरु गरेको छ । अक्षयकोषमार्फत उत्कृष्ट वर्ष खेलाडीलाई २५ हजार रुपियाँ र खेलकुद पत्रकारलाई १५ हजार रुपियाँ प्रदान गरिनेछ । अक्षयकोषमा अहिलेसम्म ८ लाख जम्मा भइसकेको छ ।
सुजल फुड्सको उत्पादन सफल दूधको मुख्य प्रायोजन रहेको प्रतियोगिता सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सम्पन्न गर्न ५५ लाख ६० हजार रुपियाँ खर्च लाग्ने र प्रतियोगिताबाट झन्डै १५ लाख बचाएर रंगशालाको भौतिक निर्माण र खेलाडीको भलाइका लागि खर्च गरिने जनाइएको छ ।

प्रतिक्रिया