रुनीबाट मोयसको अपेक्षा

sipnkम्यानचेस्टर युनाइटेडका प्रशिक्षक डेभिड मोयसले वायन रुनी र भान पर्सीबीचमा अग्रपंक्तिमा गतिलो तालमेल हुने दाबी गरेका छन् । २७ वर्षीय रुनीलाई मध्यपंक्ति नभएर अग्रपंक्तिमै खेलाउने निर्णय मोयसले लिएका हुन् । पछिल्लो समय सेस फाब्रिगासलाई क्लबमा अनुबन्ध गर्ने धोको पूरा हुन नसकेपछि मोयस अहिले रुनीलाई खुसी पार्न लागेका छन् । मोयसले यस सिजनमा रुनीले ३० गोल गर्ने दाबी गरे । यसअघि प्रि–सिजनका दौरान घाइते रुनी अन्यत्रै क्लबमा जाने सम्भावनासमेत देखिएको थियो । तर, रुनीलाई किन्ने चेल्सी र अन्य क्लबको इच्छा पूरा हुन नसकेपछि उनी यस सिजनमा फेरि युनाइटेडकै जर्सीमा देखिए । गत शनिबार क्रिस्ट्रन प्यालेसविरुद्ध फ्री–किकमार्फत उत्कृष्ट गोल गरेका रुनी यस सिजनमा थप उत्कृष्ट रहेको प्रशिक्षक मोयसले बताए । रुनीले गत सिजनमा सबैखाले प्रतियोगितामा गरेर केवल १६ गोल गरेका थिए । यस सिजनमा भने रुनीले गोल संख्या बढाउने विश्वास मोयसको छ । ‘रुनी र भान पर्सीबीच राम्रो तालमेल हुनसक्छ, दुई खेलाडीबीच तालमेल मिल्नसके युनाइटेडलाई कसैले रोक्न सक्नेछैन ।’ प्रशिक्षक मोयसको प्रतिक्रिया छ । गत सिजनमा भान पर्सी युनाइटेडमा आबद्ध भएपछि रुनी क्रमश: छायामा पर्दै आएका थिए । युनाइटेडमा जाभियर हर्नान्डेज र डेनी बेलब्याकजस्ता अन्य प्रतिशाली फरवार्डसमेत भान पर्सीकै छायामा छन् ।

प्रतिक्रिया