बर्दियामा निर्वाचनको माहोल तात्दै

बर्दिया, १ असोज । संविधानसभाको दोश्रो निर्वाचनका लागि बर्दिया जिल्लामा सक्रिय सबैजसो राजनीतिक दलले सम्भावित उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरेका जनाएका छन् ।
आगामी मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनलाई ध्यानमा राख्दै नेकपा माओवादी, नेपाली कांग्रेस र एमालेले चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् भने मधेसी तथा साना अन्य पार्टीले भने अझै नाम तय गरिसकेका छैनन् ।
एमाओवादीले ४ वटै निर्वाचन क्षेत्रबाट पूर्वराज्यमन्त्री विष्णु थारूसहित ७ जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएकामा अधिकांश नयाँ अनुहार छन् । क्षेत्र नं.३ मा सन्तबहादुर थारू र २ बाट विष्णु थारू छन् । उनीहरू दुवै पूर्वसभासद् हुन् । एकीकृत माओवादीले क्षेत्र नं. २ बाटै जिल्ला इञ्चाज तिलक शर्मा हिमालको नाम पनि सिफारिस गरेको छ । यस्तै, विवादका बीच नेपाली कांग्रेसले १५ जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा परेका सबै उम्मेदवार नयाँ छन् । उम्मेदवार चयनका विषयमा चारवटै निर्वाचन क्षेत्रमा विवाद भएको थियो ।
नेपाली कांग्रेसले जिल्ला सभापतिलाई क्षेत्र नंं २ बाट प्रत्यक्षतर्फ सिफारिस गरेको छ । यस्तै एमालेले ४ वटा निर्वाचन क्षेत्रबाट प्रत्येक निर्वाचन क्षेत्रमा एकजना महिला रहने गरी ३/३ जना गरी प्रत्यक्षतर्फ १२ जनाको नाम सिफारिस गरेको छ । एमालेले क्षेत्र नंं १ बाट केन्द्रीय उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, पार्टीका पूर्वजिल्ला सचिव श्याम ढकाल र एकजना महिला उम्मेदवारलाई सिफारिस गरेको छ भने क्षेत्र नं. २ बाट पूर्वउपाध्यक्ष एवं कार्यबहाक अध्यक्ष पूर्ण शर्मा, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य शोभा ज्ञवालीको नाम सिफारिस गरेको प्रचार विभाग प्रमुख नुतन चौधरीले बताए ।
संविधानसभाको चुनाव मिति नजिकिँदै गर्दा बर्दिया जिल्लामा चुनावी सरगर्मी पनि बढेको छ । यस अघिको संविधानसभाको निर्वाचनमा ४ क्षेत्रमा नेकपा माओवादीले जिते पनि यसपालि भने कठिनाई पर्ने देखिएको छ । क्षेत्र नं १ मा एमाले उपाध्यक्ष वामदेव गौतम बलिया देखिएका छन् । यसैगरी क्षेत्र नंं.२ बाट सिफारिस गरिएका अरू उम्मेदवाभन्दा पूर्ण शर्मा बलिया छन् । जिल्लाको सदरमुकामसमेत रहेको क्षेत्र नं. २ लाई सबैपार्टीले महत्त्वपूर्ण ठानेकाले जिल्लास्तरको नेतृत्व सम्हालेका नेता यस क्षेत्रबाट उम्मेदवार बनेका छन् । मधेस केन्द्रित दल पनि यही क्षेत्रमा केन्द्रित भएर कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया