छात्रवृत्तिका विद्यार्थीलाई पनि चर्को शुल्क

Gems-Schoolकाठमाडौं, ३० भदौ । निजी उच्च मावि तथा कलेजहरूले छात्रवृत्तिमा अध्ययन गरिरहेका विद्यार्थीसँग चर्को शुल्क लिने गरेको पाइएको छ । उच्च माध्यमिक शिक्षा परिषद्बाट गरिब तथा जेहेनदार छात्रवृत्ति पाई अध्ययन गरिरहेका विद्यार्थीसँग कलेजहरूले चर्को शुल्क लिने गरेका हुन् ।
कलेजहरूले छात्रवृत्तिमा पढिरहेका कक्षा ११ का विद्यार्थीसँग विभिन्न शीर्षकमा ४० हजार रुपियाँसम्म लिने गरेको पाइएको छ । कलेजले प्रयोगशाला शुल्क, आन्तरिक परीक्षा शुल्क र परिषद् शुल्कको बहानामा चर्को शुल्क लिने गरेको पाइएको छ ।
छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीले कलेजले विभिन्न शीर्षक देखाएर रकम असुल्ने गरेको भन्दै परिषद्देखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीसमेत दिएका छन् । आफूहरूसँग कलेजले रकम मागिरहेको उजुरीमा उल्लेख छ । एक विद्यार्थीले कलेजले २५ हजार मागिरहेको र आफूले तिर्न नसक्ने जनाएका छन् ।
परिषद्का अनुगमन तथा अनुसन्धान शाखा प्रमुख डम्बर बतासले छात्रवृत्तिका विद्यार्थीबाट कलेजले अवैध रूपमा शुल्क लिइरहेको पाइएको बताए । प्रयोगशाला र आन्तरिक शुल्क लिने भने पनि कलेजहरूले मनोमानी ढंगले चर्को शुल्क लिएको पाइएको बतासको भनाइ छ ।
लैनचोरस्थित निस्ट कलेजले २४ हजार, तीनकुनेस्थित नासा इन्टरनेसनल कलेजले २३ हजार ८ सय र सुविधानगरस्थित ह्वाइट गोल्डले प्रयोगशालाबापत ९ हजार रकम असुलिरहेको उल्लेख छ । कलेजहरूले विद्यार्थीलाई बिलसमेत नदिई रकम असुल्ने गरेका छन् । कलेजले प्रयोगशाला शुल्कको मात्र २० हजारसम्म लिने गरेको पाइएको छ ।
बतासले उजुरीका सम्बन्धमा ती कलेजमा गएर छानबिन गरिने जानकारी गराए । ‘उजुरीका आधारमा छानबिन गर्छांै । यसरी चर्को शुल्क लिन पाइँदैन,’ उनले सौर्यसँग भने, ‘बढी शुल्क लिने कलेजलाई कारबाही गर्छांै ।’
विद्यार्थीबाट चर्को शुल्क उठाउन थालेको पाएपछि परिषद्ले एक साताअघि मात्र यस शैक्षिक सत्रका लागि छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीका लागि न्यूनतम शुल्क तोकेको छ । तापनि, अवैध असुली रोकिएको छैन । परिषद्ले प्रयोगशाला शुल्क, आन्तरिक शुल्क र रजिस्ट्रेसन शुल्क गरी विज्ञान समूहमा एक हजार, व्यवस्थापनमा ६ सय ५० र
छात्रवृत्तिका विद्यार्थीलाई पनि चर्को शुल्क
मानविकी र शिक्षा समूहका विद्यार्थीबाट ३ सय ५० तोकेको छ । अर्को शैक्षिक सत्रबाट छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले कुनै पनि शुल्क तिर्नु नपर्ने बतासले बताए ।
परिषद्को नियममा केही शुल्क लिन पाउने व्यवस्था गरेकाले कलेजले त्यसैको बहानामा बढी शुल्क लिएका हुन् । विद्यार्थीलाई परिषद्को सिफारिसमा ३ प्रतिशत र २ प्रतिशत छात्रवृत्ति आफैँले उपलब्ध गराउनुपर्छ । परिषद्ले सिफारिस गरेको छात्रवृत्तिमा विद्यार्थी पढाएबापत कलेजको नवीकरणलगायत शैक्षिक शुल्कमा कर मिनाहको व्यवस्था छ ।
उच्च मावि सञ्चालकहरूको संस्था हिसानका उपाध्यक्ष रमेश सिलवालले भने परिषद्ले तोकेको शुल्क मात्र लिएको दाबी गरे । ‘पछिल्लोपटक कोटाभन्दा बढी सिफारिसमा आएका विद्यार्थीसँग २६ हजारसम्म शुल्कचाहिँ असुलेका हौँ,’ सिलवालले भने ।

प्रतिक्रिया