‘क्यान्सर मृत्यु होइन’

Manisha-koirala-Newकाठमाडौं, २९ भदौ । क्यान्सर रोगको लामो उपचारपछि निको भएकी अभिनेत्री मनीषा कोइरालाले क्यान्सर रोगबारे मानिसमा भ्रम रहेको बताएकी छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रियस्तरको स्वास्थ्यसम्बन्धी सेमिनारमा कोइरालाले क्यान्सर शब्दबाटै मान्छे डराउने गरेको उल्लेख गरिन् । ‘मान्छेहरू क्यान्सर शब्ददेखि नै डराउँछन्, क्यान्सरको समयमै पहिचान गरी उपचार गरे निको हुन्छ, उनले भनिन्, ‘क्यान्सरबाट होइन, मान्छेहरू हृदयाघातका कारण मर्छन् ।’
क्यान्सर रोगबारे जनचेतना फैलाउन आवश्यक रहेको भन्दै अभिनेत्री मनीषाले भनिन्, ‘क्यान्सर मृत्यु होइन भन्ने कुरा बुझाउनु जरुरी छ ।’
मन्तव्यका क्रममा निकै भावुक देखिएकी मनीषाले अगाडि भनिन्, ‘जीवन के हो भन्ने कुरा अस्पतालको बेडमा रहँदा बुझेँ, जतिबेला जे पनि हुन सक्थ्यो । दुर्घटना वा अरू नै केही । हामी सपना देखिरहेका हुन्छौँ तर सब चिज चुट्कीका भरमा सकिन सक्छ ।’ क्यान्सरबारे गुगलमा नकारात्मक कुरा मात्र राखिएको मनीषाले जनाइन् । उनले गुगलमा क्यान्सरबारे राखिएका कुराले आफू धेरै रोएको अनुभव सुनाइन् ।
अझै केही समयसम्म आराम गर्नुपर्ने भए पनि त्यसपछि भने चलचित्र क्षेत्रमा फर्किने मनीषाले स्पष्ट पारिन् । उनले क्यान्सरसम्बन्धी स्क्रिप्ट आए आफूले त्यसमा खेल्नेसमेत बताइन् । उनले भनिन्, ‘डिसेम्बरसम्म म फिट हुन समय लाग्छ, त्यसपपछि फिल्ममा फर्किने हो । यो नै मेरो प्राथमिकता हो ।’

प्रतिक्रिया