पहाडी जिल्लामा खाद्यान्न ढुवानी सुरु

धनगढी, २८ भदौ । दसैँतिहार जस्तो चाडमा खाद्यान्न अभाव नहोस् भनेर खाद्य संस्थानले सुदूर तथा मध्यपश्चिमका पहाडी जिल्लाहरूमा खाद्यान्न ढुवानी सुरु गरेको छ ।
सुदूरपश्चिम क्षेत्रका सबै पहाडी जिल्लाहरू र मध्यपश्चिमका हुम्ला र सुर्खेतमा खाद्यान्न आपूर्तिका लागि ढुवानी गर्ने कार्य सुरु गरेको धनगढीस्थित नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले जानकारी दिएको छ ।
समयमै टेन्डर भई खाद्यान्न ढुवानीका लागि सम्झौता भएपश्चात् खाद्यान्न ढुवानी कार्य सुरु भइसकेकाले यस वर्ष खाद्य संकट नहुने सो कार्यालयका प्रमुख सुरेन्द्र विष्टले बताए । बाजुराको कोल्टी र दार्चुलाको सुनसेरा डिपोबाहेकका अन्य खाद्य डिपोहरूमा खाद्यान्न ढुवानी सुरु भइसकेको उनले बताए ।
नेपाल खाद्य संस्थानले यस वर्ष बाजुरा कोल्टी डिपोमा ५ हजार ८ सय, मार्तडीमा ७ हजार, बझाङको बिसौनामा २ हजार, चैनपुर एक हजार पाँच सय, मंगलसेन अछाम ३ हजार क्विन्टल चामल ढुवानी हुने जनाइएको छ ।
त्यस्तै, बैतडी मेलौली डिपोमा एक हजार, पुर्चौडी डिपोमा २ हजार ५ सय, दार्चुला सुनसेरा डिपोमा १ हजार ५ सय, पारीबगरमा १ हजार ५ सय, खण्डेस्वरीमा १ हजार ५ सय, हुम्ला श्रीनगरमा पाँच सय र सुर्खेतमा ५ हजार क्विन्टल कोटा चामल ढुवानी गरिने कार्यालय प्रमुख विष्टले बताए ।
‘बाजुराको कोल्टी र दार्चुलाको सुनसेरा डिपोमा खाद्य संकट देखिएको छ,’ विष्टले भने, ‘कोल्टी र सुनसेरा डिपोमा खाद्यान्न ढुवानीका लागि बाटो अवरुद्ध भएकाले चामल ढुवानी गर्न नसकिएको हो ।’ कोल्टी डिपोमा खाद्यान्न ढुवानीका लागि एक/दुई दिनभित्रै सम्झौता गरिने उनले बताए ।
यसको अन्तिमसम्म उत्तरी दाुर्चलामा चामल पठाउन नसकिए त्यहाँ पनि भोकमरी हुने विष्टको भनाइ छ । यस वर्ष समयमै टेन्डर भई ढुवानी गर्ने कार्य सुरु भइसकेकाले दसैँतिहारमा खाद्य संकट नहुने विष्टले दाबी गरेका छन् ।
‘यस वर्ष खाद्य संस्थान अञ्चल कार्यालयले सुदूर तथा मध्यपश्चिमका लागि ३२ हजार ८ सय क्विन्टल चामलको कोटा छुट्याएको छ । आवश्यकता अनुसार थप हुन सक्छ,’ प्रमुख विष्टले भने, ‘गत वर्ष ३१ हजार ७ सय २९ क्विन्टल चामलको कोटा ढुवानीका लागि छुट्याइएको थियो ।’ अघिल्लो आर्थिक वर्ष यी जिल्लामा २१ हजार ६ सय ३ क्विन्टल चामल पठाइएको थियो ।
गत आर्थिक वर्षमा छुट्याइएको कोटामध्ये हुम्लाको श्रीनगरमा ४ सय क्विन्टल चामल ढुवानी हुन सकेको थिएन भने कोल्टीमा १ सय ८५ क्विन्टल ढुवानी हुन सकेको थिएन ।

प्रतिक्रिया