कपास विकास समिति नाफामा

बाँके : सशस्त्र द्वन्द्वका कारण लामो समयदेखि रोकिएको कपासखेती पुन: सुरु गरिएपछि खजुरास्थित कपास विकास समिति दुई वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको छ । दुई वर्षमा समितिले ८३ लाख नाफा कमाउन सफल भएको समितिका प्रमुख वीरबहादुर सिंहले बताए । कार्यालयको बर्सेनि नाफा बढाउँदै लैजाने लक्ष्य छ । प्रमुख सिंहका अनुसार यस वर्ष बाँके, दाङ र बर्दियामा ३ सय बिघामा कपासखेती लगाइएको छ ।
दाङका पुरन्धरा, पञ्चकुले, श्रीगाउँ, धनौरी, फूलबारी, गोलटाकुरी, बेला, राजपुर, सतबरिया, बाँकेको खासकुस्मा, कम्दी र बर्दियाको जमुनी क्षेत्रमा कपासखेती भइरहेको छ । गत वर्ष तीन जिल्लामा २ सय २५ बिघामा कपासखेती लगाइएको थियो । बजेट अभावका कारण कैलाली र कञ्चनपुरमा भने कपासखेती विस्तार गर्न नसकिएको प्रमुख सिंहले बताए । यसपालिको बजेटमा २ सय टन कपास खरिदका लागि बजेट आएको जानकारी दिँदै सिंहले बाँकी १ सय टन आन्तरिक स्रोतबाट खरिद गरिने बताए ।
२०५८ तिर आएर द्वन्द्व, आर्थिक स्थिति र बजार अभावका कारण समिति बन्द हुन पुगेको थियो । मुख्य कपास खरिद गर्ने हेटौँडा कपडा उद्योग र बुटवल धागो उद्योग पनि बन्द भएपछि कपास विकास समितिलाई त्यसको सोझो असर परेको थियो । केही वर्ष करोडौँ मूल्यका कपास प्रशोधन मेसिनलगायत समितिको भौतिक संरचनासमेत अलपत्र अवस्थामा रहे पनि हाल आएर पुन: आशाका किरण पलाएको प्रमुख सिंहले बताए । दुई सय ५० जना कर्मचारी रहेको समितिमा आएको सङ्कटपछि अधिकांश कर्मचारीलाई स्वैच्छिक अवकाश दिइएको थियो । हाल १७ कर्मचारीले मात्र कार्यालयको प्रशासनिक तथा बाह्य कार्य गर्दै आएका छन् । (सौस)

प्रतिक्रिया