सुविधा बढाउन सप्तरी जिविसमा धर्ना

vdc karmachari andolan (3)राजविराज, १८ भदौ । सरकारी कर्मचारी सरह सेवा सुविधा लगायतका तीन बुँदे माग राखेका कर्मचारीहरुको लगातारको आन्दोलनले सप्तरीका १ सय १४ वटा गाविसको कामकाज ठप्प भएको छ ।
कर्मचारीहरु गाविसको काम छाडेर जिल्ला विकास समितिको कार्यालयमा भेला भई धर्ना दिएपछि तीनदिन देखि सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो ।
कर्मचारीहरुले माग पुरा गराउन दवाव दिने उदेश्यले आईतबारदेखि गाविसको कामकाज अबरुद्ध गरेर धर्नामा बसेका हुन् । आन्दोलनको नेतृत्व गाविस कर्मचारी संघ नेपालले गरेको छ ।
धर्नामा ९३ प्राविधिक सहायक, ३० खरिदार, २८ मुखिया र १ सय १४ कार्यालय सहायक गरी २ सय ६५ कर्मचारी धर्नामा बसेको संघका अध्यक्ष पर्शुराम यादवले जानकारी दिए ।
सम्पूर्ण कर्मचारीहरुको तलव/भत्ता र सेवा/सुविधा राज्यकोषबाट ब्यवस्था हुनु पर्ने, स्थानीय निकाय सेवा आयोग गठन हुनु पर्ने र वृत्ति विकासको ब्यवस्था गर्नु पर्ने उनीहरुको माग छ ।
आन्दोलनमा गाविस सचिव हकहित संरक्षण केन्द्रले पनि ऐक्यवद्धता जनाएको छ ।
सम्पूर्ण कर्मचारी कार्यालय छाडेर आन्दोलनमा लागेपछि गाविसबाट सम्पादन हुने कामकाज ठप्प भएको छ ।
नागरिकताको सिफारिस, जन्म दर्ता, मृत्यू दर्ता, विवाह दर्तालगायत पञ्जीकरणका कुनै काम हुँन सकेका छैनन् । सेवाग्राही गाविस कर्मचारीको आन्दोलनबाट रुष्ट बनेका छन् ।

प्रतिक्रिया