द्वन्द्वकालीन हत्याका सबै घटना दवाउन दवाव

Puspakamal-Dahalकाठमाडौं, १८ भदौ । गोरखाको फुजेल हत्याका दोषीलाई कारबाही प्रक्रिया शुरु भएकाले बेला एकीकृत माओवादीले द्वन्द्वकालीन घटना नखोल्ने सरकारलाई दवाव दिएको छ ।
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग आज (मंगलबार) बालुवाटारमा भएको भेटबार्ताका क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालीन घटना उचालेर आफ्ना कार्यकर्तालाई जेल हाल्ने षड्यन्त्र नगर्न आग्रह गरेका हुन् ।
‘चुनावको मुखमा आएर एमाओवादीलाई बदनाम गराउने कार्य भएको छ,’ दाहाललाई उदृत गर्दै स्रोतले भन्यो, ‘नेता कार्यकर्ताको तेजोबध गर्ने उद्देश्यले भएका गतिविधिले चुनावलाई सहयोग मिल्दैन ।’
अध्यक्ष दाहालले २०५२ साल फागुन–१ देखि २०६३ मंसिर–४ सम्म भएका सबै घटना आफूहरुको निर्देशन र योजनामा भएको बताए । ‘जेल हाल्ने भए हामीलाई हाल्नुस्,’ उनले भने, ‘हामी जेल जान तयार छौं ।’
दाहालले आफ्ना कार्यकतालाई लागेका अपराधिक मुद्दाहरु फिर्ता लिन अध्यक्ष रेग्मीसँग आग्रह गरे । जवाफमा अध्यक्ष रेग्मीले द्वन्द्वकालीन अपराधका मुद्दाका दोषीलाई कारबाही गर्न आफूलाई दवाव आएको बताए ।
हत्यामा संलग्न एमाओवादीका नेता र कार्यकतालाई कारबाहीको माग राखेर गोरखा फुजेलका नन्दलाल अधिकारी दम्पत्ति अनशन बसे पछि अध्यक्ष दाहाल आत्तिएका छन् । अधिकारी दम्पत्तिका कान्छा छोराको हत्या गर्ने एमाओवादीका नेता तथा कार्यकर्ता विरुद्ध उनीहरुले किटानी जाहेरी दिएका छन् ।
भेटमा अध्यक्ष रेग्मी गृहमन्त्री माधव घिमिरे, सूचना तथा सञ्चारमन्त्री माधव पौडेल र स्थानीय विकासमन्त्री विद्याधर मल्लिक तथा एमाओवादीबाट अध्यक्ष दाहाल, बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया