व्यक्ति हत्या आरोपीलाई ‘टिकट’मा सिफारिश

Agni-Sapkotaकाठमाडौं, १७ भदौ । द्वन्द्व पीडित टुहुरा समाजले एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटालाई आगामी चुनावमा उम्मेद्वार बनाउन गरिएको सिफारिशप्रति आफ्नो गम्भीर आपत्ति रहेको जनाएको छ ।
समाज आबद्ध आधा दर्जन संस्थाले विज्ञप्ति जारी गरेर एमाओवादीको सिन्धुपाल्चोक जिल्ला समितिले सापकोटालाई उम्मेद्वारीका लागि केन्द्रमा सिफारिश गरेकोमा आपत्ति जनाएको हो ।
प्रवक्ता सापकोटा द्वन्द्वकालमा व्यक्तिहत्याका आरोपित हुन् । सापकोटा विरुद्ध अदालतमा मुद्दा विचाराधिन छ ।
युद्ध–अपराध तथा मानवताविरोधी अपराध जस्ता जघन्य कार्यमा आरोपितलाई अदालतीय सफाई नपाएसम्म निर्वाचनमा भाग लिई जनताको प्रतिनिधि बन्नबाट रोक लगाउने समाजले माग गरेको छ ।
अदालतमा अर्जुनबहादुर लामाको हत्याका सन्दर्भमा प्रवक्ता सापकोटा विरुद्ध किटानी जाहेरी परिसकेको भन्दै समाजले विना हिच्किचाहट अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले छुट्टै आदेश समेत दिएको स्मरण गरेको छ ।
आम नागरिकलाई नै होच्याउने गरी सापकोटालाई प्रवक्ता बनाएर एमाओवादीले आपत्तिजनक कार्य गरेको समाजको भनाई छ ।
‘एमाओवादीले कलंक आरोपितलाई जनतामा लाद्ने कोशिश गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सापकोटालाई आउँदो निर्वाचनमा जनताको प्रतिनिधित्व गर्ने मौका पाउनुहुँदैन ।’
सापकोटालाई उम्मेद्वार बनाए व्यक्तिहत्या जस्तो जघन्य हत्या गर्दा पद र प्रतिष्ठा मिल्दछ भन्ने गलत नजीर बस्ने भन्दै समाजले सबै दलहरूले ज्यादती र गम्भीर अपराध आरोपितहरूलाई टिकट दिन नहुने उल्लेख गरेको छ ।
सापकोटाले अर्जुनबहादुर लामाको २०६२ वैशाखमा काभ्रे जिल्लाको बूढाखानीमा हत्या गरेका थिए । सपकोटा सहितको समूहले लामाको शरीरलाई गाडेर छाडेका थिए । सापकोटासहित चार जना व्यक्तिहरू हत्यामा संलग्न रहेको भनी किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा परेको छ ।

प्रतिक्रिया