निर्वाचनको तयारी र वार्ताका विषयमा छलफल

sushilकाठमाडौं, १५ भदौ । उच्चस्तरीय राजनीतिक समितिले राष्ट्रपति डा.रामवरण यादव र अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग अलग–अलग भेटगरेर मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेको छ ।
राष्ट्रपति कार्यालय शीलत निवासमा आज (शनिबार) भएको भेटवार्तामा डा.यादवलाई समितिका सदस्य दलका नेताहरुले असन्तुष्ट दलहरुसँगको वार्ता प्रक्रिया र निर्वाचनको तयारीका विषयमा जानकारी गराएका हुन् ।
कांग्रेसका नेता मिनेन्द्र रिजालले डा.यादव र अध्यक्ष रेग्मीलाई संघीय लोकतान्त्रिक मोर्चासँग भएको सहमतिका विषयमा जानकारी गराएको बताए ।
‘उपेन्द्र यादव नेतृत्वको मोर्चासँगको सहमति, त्यसले पारेको सकरात्मक प्रभाव र संघीय समाजवादी पार्टीसँगको वार्ताका बारेमा राष्ट्रतिलाई जानकारी गराएको छौं,’ उनले भने ।
राष्ट्रपति डा.यादवले असन्तुष्ट दलहरुलाई वार्तामा ल्याएर निर्वाचनमा जान दलहरुलाई पुन: सुझाव दिएका थिए ।
समितिका सदस्यहरुले मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीसँग उनकै निवास बालुवाटारमा भेट गरेका हुन् । नेता रिजालले लोकतान्त्रिक मोर्चासँग भएको सहमति अनुसार अध्यक्ष रेग्मीलाई संविधान संशोधन गर्न आग्रह गरिएको बताए ।
साउन–३१ मा लोकतान्त्रिक मोर्चासँग भएको सहमति अनुसार सम्झौताका बुँदालाई संविधानमा उल्लेख गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया