बजार नपाए पछि ‘स्याउ’ गाई–भैंसीलाई

Apple-Bajuraबाजुरा, १५ भदौ । बाजुरा जिल्लाको जुकोट गाविसमा फलेका स्याउले बजार नपाए पछि बोटमै कुहिन थालेका छन् ।
उचित मूल्य र बजार नपाएर किसान मर्कामा परिरहेका बेला लगातारको बर्षाले समेत स्याउलाई समस्या बनाएको हो । झरीका कारण घाम नलागेकै कारण स्याउ बोटमा कुहिन थालेको स्थानीय कृषक कपुर शाहीले जानकारी दिए ।
‘यो वर्ष अत्याधिक स्याउ फले पनि बजार र मूल्य पाएका छैनौ,’ शाहीले भने, ‘स्याउ बोटमै कुहिन थालेका छन् ।’
जुकोट, वाई, साप्पाटा, कोल्टी, जगनाथा, पाण्डूसैनलगायतका गाविसमा यस बर्ष अत्याधिक स्याउ फलेको छ ।
कहिले असिना कहिले बर्षाका कारण किसानहरुले स्याउमा बर्षेनी भने जस्तो मूल्य पाउन सकेका छैनन् । बजारको अभाब, बर्षाको पानी र अन्य विविध कारणले किसानले बर्षेनी लाखौंको क्षति बेहोर्नु परेको स्थानीय कृषकहरुको भनाई छ ।
यातायातको असुविधाले पनि स्याउ वर्षेनी कुहिएर खेर जाने गर्छ । ‘बजार पाए एउटै बोटबाट हजारौं रुपियाँ आम्दानी हुन्छ,’ एक कृषकको भनाई छ ।
असार शुरु भएदेखि बाजुरामा अविरल बर्षा भईरहेको छ । घाम पनि राम्रोसँग लाग्न पाएको छैन ।
स्याउ खेतीबाटै आम्दानी गर्ने कृषक अत्याधिक मर्कामा परेका छन् । स्याउ कुहिना थाले पछि गाई भैंसीलाई दिन थालिएको छ ।
पाकेका स्याउ फल्ने वा आफन्तलाई नि:शुल्क दिने भन्दा बिक्री गर्न नसकिएको स्थानीय कृषकहरुको गुनासो छ ।
मार्तडी र कोल्टी बजारमा कृषकहरुले उचित बजार नपाए पछि एकदानालाई तीनदेखि पाँच रुपियाँमा बिक्री गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय र सरोकारवाला निकायले पनि स्याउको बजार मूल्य र व्यवस्थापनमा चासो नदिएको कृषकहरुको गुनासो छ । कार्यालयले स्याउ कुहिएको जानकारी अहिले सम्म नआएको जनाएको छ ।

प्रतिक्रिया