तोली स्वास्थ्य चौकीमा ‘सिटामोल’ छैन

drugबाजुरा, १२ भदौ । बाजुरा जिल्लाको तोली स्वास्थ्य चौकीमा औषधिको अभाव भएपछि विरामी मेडिकलको महँगो औषधि किन्न बाध्य भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले ढुवानीमा ढिलासुस्ती गर्दा स्वास्थ्य चौकीमा सबैजसो औषधिको अभाव रहेको इन्चार्ज वीरबहादुर अयडीले बताए । स्वास्थ्य चौकीमा असारदेखि औषधिको अभाव देखिएको हो ।
असारमा औषधि सकिए पनि स्वास्थ्य चौकीले बेवास्ता गर्दा मेडिकलबाट महँगो मूल्य तिर्नु परेको उपचार गर्न आएका विरामी निब बहादुर शाहीले गुनासो गरे ।
मौसमी परिर्वतनसँगै स्वास्थ्य चौकीमा विरामी बढेका छन् । यद्यपि स्वास्थ्य संस्थामा सिटामोल ल्याउन सरोकारवालाहरुले चासो नदेखाएको स्थानीयको गुनासो छ ।
सामान्य रुघाखोकी लाग्दा समेत मेडिकलबाट औषधि किन्नु परेको भन्दै विरामीले असन्तुष्टी जनाए ।
दैनिक सय बढि विरामी उपचारका लागि आउने गरेका छन् । उपचार पछि नि:शुल्क पाउनुपर्ने औषधि नपाए पछि खालीहात फर्किनु परेको इन्चार्ज अयडीले बताए । ‘औषधि पठाउन पटक–पटक आग्रह गर्दा पनि जिल्ला जन–स्वास्थ्यले ढुवानीमा चासो दिएको छैन,’ उनले भने ।
उपचारका लागि भाइरल ज्वरो, आउँ, रुघाखोकी, पखालाका विरामी धेरै आउने गरेका छन् । औषधि अभावमा प्रसुति सेवा समेत प्रभावित बनेको छ ।
नेपाल सरकारले प्रत्येक स्वास्थ्य चौकीका लागि २३ किसिमका औषधि नि:शुल्क वितरण गर्ने जनाउँदै आएको छ । जन–स्वास्थ्य कार्यालयले समयमै औषधि खरिद गरेपनि बर्षाका कारण ढुवानीमा समस्या भएको जनाएको छ ।

प्रतिक्रिया