कोरिया पठाउन पनि ‘माओवादी’को हस्तक्षेप

maobadisकाठमाडौं, ९ भदौ । नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी बैदेशिक मजदुर संघले अघिल्लो पटक ईपीएस अर्थात भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीलाई कोरिया पठाउन आन्दोलनको नेतृत्व गरेको छ ।
संघले आज (आईतवार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर पहिलानै भाषा परीक्षा उत्तीर्ण गरेर बसेका परीक्षार्थीलाई बिनासर्त कोरिया लैजानुपर्ने जनाएको हो । ईपीएस पीडितहरुले स्वतन्त्र रुपमा लामो समयदेखि आन्दोलन गरे पनि सरकारले बेवास्ता गरेको आरोप संघले लगाएको छ ।
उसले सरकार समस्या समाधानको साटो बेवास्ता गरेर लागेकाले आफूहरु आन्दोलनमा उत्रनु परेको जनाएको छ । संघले पुरानालाई व्यवस्थापन गरेर मात्रै नयाँ भाषा परीक्षा गराउन भनेको छ ।
पुरानै इपीएस परीक्षा उत्तीर्ण गरेर पनि रोजगारीका लागि कोरिया जान नपाएका ५ हजार ३ सय यूवाहरुलाई बेवास्ता गरेर नयाँ परीक्षाको आवेदन खोलिएकोमा संघले असन्तुष्टि जनाएको छ ।
नयाँ आवेदन खोल्ने कार्यले समस्या झनै बढेको संघको भनाई छ । संघका अध्यक्ष भीम चापागाईंले फेरि यस्तो समस्या नआओस् भनेर आफूले आन्दोलनको नेतृत्व गरेको बताए ।
उनले सरकारलाई ईपीएस पीडितहरुको समस्या समाधान गरेर मात्रै नयाँ प्रक्रिया शुरु गर्न सचेत गराए । राज्यले गैरजिम्मेवार ढंगले खर्च गर्न लगाएर अहिले जिम्मेवारीबाट पन्छिएको दावी गर्दै उनले तत्काल कुटनीतिक पहलबाट कोरिया पठाउन सुझाव दिए ।
सन् २०११ मा दक्षिण कोरियामा रोजगारीका लागि जान भाषा परीक्षा ईपीएस उत्तीर्ण गरेर पनि जान नपाएका युवाहरुको आन्दोलन कोरिया जानपाउनुपर्ने भन्दै आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया