मुन्द्रा लुट्न तीन बर्षका बालकको अपहरण

Ashika-Rawat-n-Binodधनगढी, ५ भदौं । कैलालीको धनगढी नगरपालिका–३, आर्दशनगरबाट अपहरणमा परेका तीनवर्षीय बालकलाई प्रहरीले २४ घण्टा पछि सकुशल उद्धार गरेको छ ।
सोमबार बिहान साढे दस बजे भन्साररोडस्थित होटलमा खेलिरहेका लक्ष्मण रावतका छोरा विनोद रावतलाई अज्ञात समूहले अपहरण गरेको हो ।
लक्ष्मणलाई सोध्दै आएको अपरिचित ब्यक्तिले चकेलट खुवाउने भनि अपहरण गरेको थियो । अपहरणमा परेका विनोदलाई मंगलबार बिहान १० बजे कञ्चनपुरको महेन्द्रनगरस्थित न्यू चौलानी होटलको १ सय ७ नम्बर कोठाबाट प्रहरीले उद्धार गरेको कैलालीका प्रहरी प्रवक्ता नायव उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
प्रेम नाम गरेका करीव तीस वर्षीय व्यक्तिले विनोदलाई खेलाउँदै अपहरण गरेको आमा आशीका रावतले जानकारी दिईन् । सो व्यक्तिले पसलमा चकलेट किनीदिन्छु भनेर विनोदलाई लिएर गएपछि बेपत्ता भएको थियो ।
विनोद १५ मिनेटसम्म पनि नआएपछि शंका लागेर उनका बुबाले प्रहरीलाई खबर गरेका थिए ।
आशीकाले सामान्य होटल व्यवसाय गर्दै आएकी छन् । उनका पतिले धनगढीस्थित नयाँराम होटलमा कालीगढको काम गर्छन् ।
प्रेम नाम गरेको अपहरणकारीले विनोदलाई मोटरसाइकलबाट महेन्द्रनगर लगेर न्यू चौलानी होटलमा राखेको नायव उपरीक्षक कँडेलले बताए ।
सो व्यक्तिले होटलमा बैतडीको दशरथचन्द नगरपालिका घर र बुबा नाम हरिश पन्त तथा आफ्नो नाम सुरज पन्त लेखाएको प्रहरी भनाई छ ।
रातभरि बच्चासँगै रहेका अपहरणमा संलग्न ब्यक्ति मंगलबार बिहानै साढे पाँच बजे एटीएमबाट पैसा निकाल्छु भनेर गएका थिए । यद्यपि, फर्केर नआएको होटल सञ्चालकले प्रहरीलाई बयान दिएका छन् ।
अपहरणकारीले बच्चाको कानमा लगाएको आधा तोला सुनको रिङ लगेर बालकलाई सकुशल छोडेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अपहरणकारीले बालकले कानमा लगाएको मुन्द्री मात्र लिने नियतले अपहरण गरेको अनुमान छ ।

प्रतिक्रिया