भारतीय नेता मंसिर–४ को चुनावका पक्षमा

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्ना साताव्यापी भारत भ्रमणका विषयमा पार्टीका प्रमुख नेताहरुलाई जानकारी गराएका छन् ।
महाराजगञ्जस्थित आफ्नै निवासमा जम्मा भएका प्रभावशाली नेताहरुलाई भारत भ्रमण र भारतीय नेताहरुको चाहनका विषयमा जानकारी गराएको एक नेताले जानकारी दिए । कोइरालाले आफू भारत भ्रमणबाट सन्तुष्ट रहेको उल्लेख गरेका छन् ।
‘भारत नेपालमा तोकिएकै समयमा चुनाव भएको हेर्न चाहन्छ,’ कोइरालाको भनाई उदृत गर्दै एक नेताले भने, ‘मंसिर–४ को चुनाव नसार्न भारतीय नेताहरुको सुझाव छ ।’ उनले निर्वाचनमा जुट्नुपर्ने समेत जनाए ।
भारत भ्रमण सकेर शुक्रबार स्वदेश फिर्ता भएका कोइरालाले उपसभापति रामचन्द्र पौडेल र अन्य नेताहरुसँग मुलुकको राजनीतिक अवस्थाका बारेमा जानकारी लिएका छन् । उनले निर्वाचनका लागि विशेष अभियान लिएर जानुपर्ने आवश्यक्ता औल्याएका छन् ।
भारतको औपचारिक निमन्त्रणामा नयाँ दिल्ली पुगेका कोइरालाले उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । उनले भारतले सीमाक्षेत्रमा निर्माण गरेको बाँधका कारण भएको डुबानका विषयमा पनि कुरा उठाएका थिए । सो विषयमा भारत र नेपाल मिलेर समाधान खोज्ने सहमति पनि भएको छ ।

प्रतिक्रिया