गाली गर्दैमा राष्ट्रवादी हुन सकिँदैन : दाहाल

Puspakamal-Dahalपोखरा, २३ साउन । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले अघि सारेका माग पुरा गर्न नसकिँने खालका रहेको टिप्पणी गरेका छन् ।
पोखरामा आज (बुधबार) आयोजित एकटेलिभिजन कार्यक्रममा मंगलबारको वार्तामा ३३ दलीय मोर्चाले अघि सारेका माग पुरा गर्न कठिन रहेको बताए ।
३३ दलीय मोर्चाले वर्तमान सरकार विघटन गरेर दलीय सरकार बनाउनु पर्ने, बाधा अड्काउ फुकाउ फिर्ता हुनुपर्ने, निर्वाचन प्रक्रिया रोकेर चुनाव सार्नुपर्नेलगायतका माग अघि सारेको थियो ।
उनले नेकपा–माओवादीले संविधानसभा निर्वाचन विथोल्ने हैसियत नराख्ने बताए । ‘नेकपा–माओवादीले संविधानसभा निर्वाचन भाँड्ने हैसियत राख्दैन,’ उनले भने ।
निर्वाचन भाँड्ने शक्ति जनताबाट नाङ्गिने बताएका अध्यक्ष दाहालले जनभावनाको कदर गरी चुनावमा भाग लिन आग्रह गरे ।
उनले आफूहरुलाई दुईतिहाई बहुमत दिलाउन मतदाताहरुसँग आग्रह गरे । ‘बहुमत नहुँदा अघिल्लो संविधानसभा विघटन भएको हो,’ उनले भने, ‘आसन्न संविधानसभा निर्वाचनमा एकीकृत माओवादीको बहुमत र परिवर्तन पक्षधरको दुईतिहाई आउँनु पर्छ ।’
अध्यक्ष दाहालले मित्रराष्ट्र र छिमेकी मुलुकहरुलाई गाली गर्दैमा राष्ट्रवादी हुन नसकिने बताए । ‘भारत, चीन र अमेरिकालाई गाली गर्दैमा कोही राष्ट्रवादी बन्न सक्दैन,’ उनले भने ।

प्रतिक्रिया