चन्द्रनिगाहपुर बम काण्डका आरोपी पक्राउ

Bhairab-Rai-Yadavरौतहट, २१ साउन । रौतहट जिल्लामा पाँच जनाको ज्यान जाने गरी भएका अलग अलग बम विष्फोटका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
रौतहटको कटहरिया–२ निवासी ४७ बर्षीय शांशा भनिने भैरव राय यादवलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शुक्रवार नियन्त्रणमा लिएको हो ।
चन्द्रनिगाहपुर र कटहरिया गाविसमा ५ वर्ष अघि उनकै नेतृत्वमा बम विष्फोट गराउँदा ५ सर्वसाधारणको मृत्यू भएको थियो ।
तराई आर्मीका केन्द्रीय उपाध्यक्ष समेत रहेका यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
२०६५ असोज–२८ गते दिउँसो ४ बजेर १० मिनटमा पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चन्दनिगाहपुर–१ स्थित हनुमान गेष्ट हाउस अगाडि यादवले बम विष्फोट गराएका थिए । बम विष्फोटबाट जुडीबेला–३ की २२ वर्षीया शिलादेवी सिञ्जाली, उनकी दुई वर्षीया सुस्ती सिञ्जाली र बारा जिललाको सिमरा–४ का ३ वर्षीय विवश थापाको मृत्यू भएको थियो ।
२०६५ माघ–१२ गते दिउँसो ४ बजेर ४० मिनटमा कटहरिया बजारमा भएको अर्को बम बिष्फोटमा कर्कच कर्मैया–४ का तरकारी ब्यापारी ३५ बर्षीय जयनारायण महतो र कटहरिया–१ का ४५ बर्षीय हरिराय यादवको मृत्यू भएको थियो ।
सर्लाही जिल्लामा २०६६ असार–११ गते कटुवा पेस्तोलसहित पक्राउ गरेपछि यादवलाई हातहतियार खरखजाना ऐन अन्तर्गत कानूनी कारवाही गरी कारागार पठाएको थियो ।
सर्लाहीको मुद्दामा सजाय पूरा गरी कारागार मुक्त भएका यादवलाई पुन: जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार नियन्त्रणमा लिएको मुद्दाफाँटका प्रहरी निरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
२०४० सालमा प्रहरी जवान पदबाट प्रहरी संगठनमा प्रवेश गरेका यादव २०५८ सालमा हवल्दार पदबाट अवकाश लिएका थिए । अवकास पछि उनी तराई मुक्ति मोर्चा ज्वाला सिंह समूह हुँदै तराई आर्मीमा प्रवेश गरेका हुन् । तराई आर्मीमा उनी पार्टीको केन्द्रीय उपाध्यक्ष रहेका थिए ।
चार वर्ष अघि आर्मीका अध्यक्ष मिस्टर जोन प्रहरीको कारवाहीमा मारिएपछि यादवले नै संगठन सञ्चालन गर्दै आएका थिए ।
चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक नन्दलाल साहले बम विष्फोट, हत्या र जबरजस्ती असुलीको विषयमा यादवविरुद्ध थप अनुसन्धान गरेर अदालत समक्ष पेश गरिने बताए ।

प्रतिक्रिया