‘पागल प्रेमी’सँग मिलेर आफ्नै पतिको हत्या

Hatya Premiसिरहा, १७ साउन । सिरहाको मिर्चैयामा साउन दोस्रो साता हत्या भएका कपडा व्यवसायी गुरु शरण साहलाई उनकै कान्छी पत्नीको योजनामा हत्या भएको खुलेको छ ।
साउन–२ गते राति कपडा व्यवसायी गुरु शरणको हत्या भएको थियो । प्रहरीले अनुसन्धान पछि मुख्य योजनाकार उनकै कान्छी पत्नी चन्दर देवी साह रहेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विगत १५ वर्षदेखिको परपुरुषसँगको यौन सम्बन्ध पतिले थाहा पाएपछि चन्दर देवीले नै आफ्ना प्रेमीको सहयोगमा हत्या गर्न लगाएको खुलेको छ ।
प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीका अनुसार परपुरुषसँगको अनैतिक यौन सम्बन्ध खुले पछि ४० वर्षीया चन्दर देवी र मृतक गुरु शरणबीच तीन महिनादेखि खटपट हुँदै आएको थियो ।
पति–पत्नीवीच खटपट बढ्न थालेपछि चन्दर देवीले माडर–३ निवासी आफ्ना प्रेमी सतदेव यादवसँग मिलेर गुरु शरणको
हत्या योजना बनाएकी थिईन् । चन्दर देवीका प्रेमी सतदेव यादव हाल साउदीमा वैदेशिक रोजगारीका लागि पुगेका छन् । उनलाई पक्राउ गर्न प्रहरीले इन्टरपोललाई आग्रह गरेको जोशीले जानकारी दिए ।
हत्यामा संलग्न सबैको पहिचान भईसकेको जनाएका उपरीक्षक जोशीले पूर्ण विवारण दिएनन् । उनले भने, ‘हत्याका अभियुक्तहरु फरार हुने भएकाले नाम सार्वजनिक गर्न कठिन भएको छ ।’
साउन–२ गते राति आफनै निवासमा सुतिरहेका गुरु शरणलाई ५/६ जनाको हतियारधारी समूहले शरीरका विभिन्न भागमा हतियार प्रहार गरी हत्या गरेको थियो । (फाईल तस्विर)

प्रतिक्रिया