वार्ताको आह्वान सशर्तसहित होइन : दाहाल

puspakamal n mohan baidhaya

काठमाडौं, ४ साउन । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यबीच भेटबार्ता भएको छ ।

दाहाल निवास लाजिम्पाटमा आज (शुक्रबार) भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, मंसिर–४ को संविधासभाको दोस्रो चुनावलगायतका विषयमा परामर्श भएको हो । नेकपा–माओवादीले दाहाल र बैद्यबीचको भेटबार्तालाई सकारात्मक रहेको जनाएको छ ।
‘हालै उच्चस्तरीय राजनीतिक समितिद्वारा वार्ताको निम्ति गरेको आह्वानबारे छलफल भयो,’ नेकपा–माओवादीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वार्ताको आह्वान सशर्त नभएको कुरा एनेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले बताउनुभएको छ ।’
‘अध्यक्ष मोहन बैद्यले नि:शर्त वार्ताको आह्वान भए हाम्रो पार्टी र आन्दोलनरत ३३ दलीय मोर्चामा छलफल गरी आवश्यक निर्णय गर्ने छौं,’ विज्ञप्तिमा भनिएको छ ।
यसअघि, बिहीबार साँझ वार्ता र सम्वादलाई लिएर एकीकृत माओवादी अध्यक्ष दाहाल र नेकपा–माओवादीका अध्यक्ष बैद्यबीच टेलिफोनमा कुराकानी भएको थियो ।
समितिले पठाएको पत्रमा पूर्वसर्त रहेको भन्दै नेकपा–माओवादीले वार्तामा बस्न अस्वीकार गरे पछि दाहालले अध्यक्ष बैद्यलाई टेलिफोनबाट आश्वस्त पार्ने प्रयास गरेका हुन् ।
वार्ताका क्रममा अध्यक्ष दाहालले कुनै पनि विषयमा पूर्वसर्त नरहेको जानकारी गराएका थिए । ‘पुष्पकमल दाहालजीले वार्ताका लागि कुनै पनि पूर्वसर्त छैन भन्नु भएको छ,’ नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिँदै भनिन्, ‘पूर्वसर्त छैन भने पछि हामी वार्तामा बस्न तयार भएका छौं ।’
दाहाल र बैद्यबीचको टेलिफोन वार्तालाई उदृत गर्दै प्रवक्ता भुसालले अगाडि भनिन्, ‘पत्रमा जे भए पनि वार्तामा बस्दा पूर्वसर्त केही हुँदैन भन्ने जवाफ प्रचण्डजीबाट पाएका छौं ।’
नेकपा–माओवादीका अध्यक्ष पूर्व निर्धारित कार्यक्रम अनुसार राज्यसमितिलाई प्रशिक्षण दिन शुक्रबार उपत्यका बाहिर जानु पर्ने भएकाले वार्ता दुई दिन पछि हुन सक्ने भुसालले जानकारी दिईन् ।
‘वार्ता टोलीका अधिकांश सदस्यहरु राजधानी बाहिर हुनुहुन्छ,’ उनले भनिन्, ‘उहाँहरु आउना साथ वार्ता हुन्छ ।’ प्रवक्ता भुसालले सम्भवत शनिबार वा आइतबारसम्म राजनीतिक समितिसँग वार्ता हुन सक्ने बताईन् ।
निर्वाचन र सरकारलगायतका विषयमा समितिले पूर्वसर्त अघि सारेपछि नेकपा–माओवादीले पूर्वसर्त मान्न आफूहरु तयार नरहेको भन्दै वार्तामा बस्न मानेको थिएन ।

प्रतिक्रिया