एकहजार अतिरिक्त भत्ता (तलब वृद्धि हुने रकम)

काठमाडौं । सरकारले कर्मचारीको तलब १८ प्रतिशत वृद्धि गरेको छ। यसका साथै हरेक कर्मचारीलाई एक हजार अतिरिक्त भत्ता दिने भएको छ। बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री शंकर कोइरालाले कर्मचारीलाई अन्य सुविधा दिने विषयमा अध्ययन गर्न विज्ञ सम्मिलित कार्यदल बनाउने घोषणासमेत गरेका छन्।

अर्थमन्त्री कोइरालाले कर्मचारीका छोराछोरी वा श्रीमान् श्रीमती बिरामी भई तीन दिनभन्दा बढी अस्पताल भर्ना भएमा सहुलियत दिने व्यवस्था पनि गरेका छन्। सरकारले निजामती कर्मचारीका शिशुहरूका लागि थप चारस्थानमा शिशु स्याहार केन्द्र स्थापना गरिदिने भएको छ। निजामती कर्मचारीका लागि पाँच लाखसम्मको स्वास्थ्यबिमा हुने भएको छ।

कर्मचारी संघसंगठनहरूले तलब कम्तीमा १० हजारका दरले बढाउनुपर्ने माग गर्दै आएका थिए। नेपाल निजामती कर्मचारी संगठनका महासचिव मोहन घिमिरेले तलब मुख्यसचिवको अध्यक्षताको समितिले गरेको सिफारिसबमोजिम पनि नबढाई बेइमानी गरिएको बताए। उनले भने, ‘यो वृद्धिले कर्मचारीलाई उत्साहित हुने वातावरण बनाएन।’

यो वृद्धिले सरकारका मुख्यसचिवको मासिक तलबभत्तामा सात हजार ५५ रुपैयाँ बढ्नेछ भने मासिक १० हजार तलबभत्ता पाउँदै आएका प्रथमस्तरका कार्यालय सहयोगीको तलबभत्ता दुई हजार आठ सय बढ्नेछ।

पद हालको तलब वृद्धि हुने रकम 

मुख्यसचिव ३३,६४० / ७,०५५
सचिव ३१,६८० / ६,७०२
सहसचिव २४,७४० / ५,४५३
उपसचिव २१,०८० / ४७९४
शाखा अधिकृत १८,७९० / ४३८२
नायब सुब्बा १४,४८० / ३६०६
खरिदार १३,६५० / ३४५७
कार्यालय सहयोगी पाँचौंस्तर १३,६४० / २४५५
कार्यालय सहयोगी प्रथमस्तर १०,००० / २८००

प्रतिक्रिया