‘निर्वाचन र सरकारको सफलता जोडेर नहेरौं’

Khilraj-Regmi'sकाठमाडौं, २९ असार । अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले सबै मिलेर सबल र स्थायी राजनीतिक व्यवस्थालाई स्थापना गर्न सक्नुपर्ने बताएका छन् ।
आदिकवि भानुभक्त आचार्यको २०० औं जन्मजयन्तीका अवसरमा आज (शनिबार) भानु प्रतिष्ठानले राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष रेग्मीले सर्जक, श्रष्टा, साहित्यकारलगायत सांस्कृति र भाषासँग लगाव राख्नु पर्ने बताए ।
उनले राजनीतिक व्यवस्थालाई स्थायित्व प्रदान गर्न अहिले राष्ट्रले लिएको संविधानसभाको निर्वाचनको उद्देश्यलाई सफल पार्न साहित्य, श्रृजना, अभिव्यक्ति र अन्य सबै भूमिका केन्द्रित हुनु पर्ने बताए ।
सबैको सहयोगले मात्रै शान्त वातावरणमा स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सकिने उनको भनाई थियो ।
‘संविधानसभाको निर्वाचनको सफलता सरकारको सफलतासँग जोडेर नहेरौं,’ उनले भने, ‘समग्र समाज, जनता र राष्ट्रको सफलतासँग सम्बन्धित छ भन्ने मान्यताका साथ सक्रिय हुन विशेष आग्रह गर्दछु ।’
अध्यक्ष रेग्मीले रचनात्मक सहयोगले देशलाई सकारात्मक दिशानिर्देश गराउन सहयोगी हुने भन्दै सहयोगको आशा एवं विश्वास लिएको उल्लेख गरे ।
‘समाज, जनता र राष्ट्रिय आवश्यकतालाई साक्षात अनुभव गर्नुभएका परिपक्व व्यक्तित्वहरु हुनु भएकाले मेरो आग्रहलाई बुझिदिनुहुनेछ,’ उनले भने ।

प्रतिक्रिया