लापर्वाहीले चिठी–पत्र महिनौसम्म पुग्दैनन्

Hulak-Saptariराजविराज, २६ असार । डाँक ढुवानीमा लापर्वाहीका कारण सप्तरी जिल्ला हुलाक कार्यालयमा यतिखेर चिठी–पत्रको डंगुर लागेको छ । ठेकेदारले चिठी–पत्र ढुवानीमा लापर्वाही गरेका कारण करीव तीन महिनादेखिको चिठी–पत्र थुपारिएका छन् ।
२०७० असार मसान्तसम्म डाँक ढुवानी गर्न तीनवर्षे ठेक्का आलोक गुप्ताले लिएका हुन् । उनले महिनौ दिनसम्म काम नगरेपछि राजविराजदेखि पूर्व काँकडभिट्टा र पश्चिम जनकपुरसम्मका चिठी–पत्र आवागमन प्रभावित भएको कार्यालय प्रमुख दक्षनारायण श्रेष्ठले वताए ।
विगत ३ महिना देखिनै ठेकेदारले डाक ढुवानीमा समस्या पारेको जानकारी दिदै श्रेष्ठले असार–१ गतेदेखि डाँक पूर्ण रुपमा वन्द भएको वताए । हुलाकको काम देखेर सेवाग्राही आजित छन् ।
यस अघिका डाँक इटहरीमा थुपारिएका छन् । डाँक आफ्नै घरमा राखिदिने गरेका कारण थप समस्या उत्पन्न भएको सप्तरी जिल्ला हुलाक कार्यालयका हुलाकी गौरीशंकर झाले बताए । ‘तीन दिनमै काठमाडौं पुग्नु पर्ने चिठी ठेकेदारका कारण तीनमहिनामा समेत पुगेका छैनन्,’ उनले भने ।
राजविराजबाट पूर्व तर्फका भारदह, ब्यारेज, लौकही, इनरुवा, झुम्का, इटहरी हुँदै काकड्भिट्टा तथा पश्चिम तर्फ रुपनी, कल्याणपुर, कडरबोना, लहान, धनगढी, गोलबजार, मिर्चैया, पोर्ताहा, ढल्केबर, महेन्द्रनगर, जनकपुर, काठमाडौं र पहाडी जिल्लासम्मका चिठी–पत्र महिनौ सम्म नपुगेको सेवाग्राहीको गुनासो छ ।
पत्र समयमा नपुग्ने गरेको गुनासो दिनप्रति दिन आउने गरेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । ‘चिठी पत्र प्राप्तकर्ताले दिनहुँ जसो कार्यालयमा आएर कराउन थालेपछि बाध्य भएर कार्यालयकै स्टाफलाई काजमा पठाएर पटक–पटक डाँक झिकाउनु परेको छ,’ श्रेष्ठले भने ।
कर्मचारी खट्दा पाउनुपर्ने रकम र लागेको खर्च समेत क्षेत्रीय कार्यालय विराटनगरले अहिलेसम्म भुक्तानी दिएको छैन । पूर्वाञ्चल क्षेत्रीय हुलाक कार्यालयका शाखा अधिकृत धमचन्द्र तिम्सिनाले ठेकेदारलाई कार्यालयले ध्यानाकर्षण गराईसकेको वताए ।

प्रतिक्रिया