३५ प्रतिशत खेतीयोग्य क्षेत्रमा रोपाइँ

काठमाडौ, २३ असार । चक्रीय प्रणालीअनुसार, चार दिन ढिलो सुरु भएको सक्रिय मनसुन र पर्याप्त रासायनिक मलको उपलब्धताका कारण यसपटक ३५ प्रतिशत खेतीयोग्य क्षेत्रमा रोपाइँ भएको छ ।

कृषि विकास मन्त्रालय मातहतको कृषि व्यवसाय प्रवर्द्धन तथा तथ्यांक महाशाखाका अनुसार, बिहीबारसम्म देशभर ५ लाख ४३ हजार ९ सय ७० हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । धान रोपाइँ हुने कुल देशभरको क्षेत्रफल १५ लाख २६ हजार हेक्टरको यो ३५ दशमलव ६ प्रतिशत भाग हो ।

असार १५ गतेसम्म मन्त्रालयले सार्वजनिक गरेको आँकडाअनुसार, देशभर त्यस बेलासम्म रोपाइँ भएको क्षेत्रफल २ लाख २८ हजार हाराहारी हेक्टर मात्रै थियो । आठ दिनयता मात्रै ३ लाख १५ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । महाशाखाले यसलाई नेपालमा दुइटा मनसुनको एकसाथ प्रवेश र रासायनिक मलको उपलब्धता भनेको छ ।

सबैभन्दा धेरै रोपाइँ भएको क्षेत्र सुदूरपश्चिम क्षेत्र हो । १ लाख ६० हजार ४ सय हेक्टरमा धान खेती हुने सुदूरपश्चिमका नौ जिल्लामा हालसम्म ५६ दशमलव ५ प्रतिशत रोपाइँ भइसकेको छ । सुदूरपश्चिमपछि धेरै धान रोपाइँ भएको क्षेत्र पश्चिमाञ्चल छ । त्यहाँका जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको प्रारम्भिक प्रक्षेपणअनुसार, ५५ प्रतिशत भूभागमा रोपाइँ भइसकेको छ ।

प्रतिक्रिया