भवन अभावमा विद्यार्थी समस्यामा

Schoolदोलखा, २१ आसार । दोलखाको पश्चिमी क्षेत्र शैलुगेश्वर गाविसको चण्डिका प्राथमिक विद्यालयका कलिला बालबालिका चर्को घाममा दिनभर तातिएर अध्ययन गर्न बाध्य भएका छन् ।
कक्षा कोठाको राम्रो व्यवस्था नहुँदा उनीहरु पानी पर्ने वित्तिकै डेक्सबेञ्च बोकर ओत खोज्दै अध्ययन गर्न बाध्य छन् । कक्षा पाँचसम्म सञ्चालनमा रहेको विद्यालयमा १ सय ४१ जना बालबालिका अध्ययनरत छन् ।
राज्यले सो विद्यालयलाई भवन बनाउन उचित रकम उपलब्ध नगराउँदा विद्यार्थीको विचल्ली भएको हो ।
‘भवनको राम्रो व्यवस्था नहुँदा साना विद्यार्थी चर्को घाममा दिनभर तातिएर पढ्न बाध्य छन्,’ एक शिक्षकले भने, ‘पानी पर्ने वित्तिकै बालबालिकाले आफै डेक्सबेञ्च बोकर ओत खोज्दै हिड्छन् ।’
विद्यालयको भवन अभावको पीडा जिल्ला शिक्षा कार्यालय दोलखालाई थाहा छैन । स्थानीयले भवन निर्माणका लागि पटक पटक पहल गरे पनि शिक्षा कार्यालयले मागप्रति वेवास्ता गर्दै आएको छ ।

प्रतिक्रिया