जडिबुटी कर्मचारीबाटै चोरी निकासी

_MG_3640दोलखा, २० असार । दोलखा वन पैदावार र जंगली पशुपन्छी संरक्षणको जिम्मा पाएको गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय नजिकै तस्करीका सामान भण्डारण गरिएको पाइएको छ ।
संकलन र निकासीका लागि प्रतिबन्ध गरिएका वन पैदावार संरक्षण क्षेत्रको कार्यालय नजिकै भण्डारण गरिनुमा कार्यालयकै संलग्नता रहेको स्थानीयको आरोप छ ।
संरक्षण क्षेत्रको प्रधान कार्यालय सिँगटीको करीव एकसय मिटर उत्तरतर्फ जंगलबाट अबैध रुपमा संकलन गरी ल्याएका धुपी सल्लाको चोइटा र झ्याउ भण्डारण गरी राखिएको छ । धुपी काठ र चोइटालगायतका पैदावार सिन्धुपाल्चोक हुँदै निकासी हुन थालेपछि मन्त्रालयस्तरबाट समेत पटक/पटक बैठक बसी सुरक्षा संयन्त्र परिचालन हुँदै आएको थियो ।
बोरामा धुपीका काठ र चोइटा फेला परे पछि संरक्षण कार्यालयबाटै चोरी निकासी भइरहेको रहस्य खुलेको हो । जंगलमा चोइटा थुप्रै भएको र सिँगटीमा १० टन बढि भण्डारण गरिएको स्थानीयले जानकारी दिए ।
संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले धुपीका चोइटा बनाउन र संकलन गर्न स्थानीय संरक्षण समितिलाई अनुमति दिएको बताए । उनले कर्मचारीले चोरी निकासी गरेको आरोपको खण्डन गरे ।

प्रतिक्रिया