निर्वाचन विथोल्न युवा दस्ता बन्दैन : बैद्य

Ncp-Maobadiपोखरा, १९ असार । नेकपा–माओवादीले निर्वाचनकै विषयलाई लिएर तत्काल जनविद्रोह वा सशस्त्र विद्रोहमा नजाने जनाएको छ ।
चारदिनसम्म चलेको केन्द्रीय समितिको पूर्ण बैठकका निर्णयबारे जानकारी गराउन आज (बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहन बैद्यले तत्काल जनविद्रोहमा जाने कुनै योजना नरहेको बताए । ‘निर्वाचन विथोल्नकै लागि भनेर कुनै नयाँ युवा दस्ता बनाउँदैनौं,’ उनले भने, ‘निर्वाचन विथोल्न हाम्रा सम्पूर्ण पार्टी पंक्ति र जनवर्गिय संगठनलाई परिचालन गर्ने हो ।’
जनयुद्धको जगमा जनविद्रोह गर्ने लाईन यथावत नै रहेपनि निर्वाचन बहिस्कारको आन्दोलनलाई जनविद्रोहसँग नजोड्न उनले स्पष्ट पारे । बन्दुकको बलमा चुनाव भए देश फाँसीवाद तर्फ जाने अध्यक्ष बैद्यको भनाई छ ।
बैद्यले कांग्रेस र एमालेले जनयुद्धको म्यण्डेडबाट बाहिरिएको नवसंशोधनवादी शक्ति एमाओवादीलाई काखी च्यापेर नेकपा–माओवादीलाई पाखा लगाएको बताए ।
उनले भने, ‘नेकपा–माओवादीलाई पाखालगाएर परिणाम सही निस्कदैन ।’
अझै पनि वार्ताको ढोका खुल्ला राखेको बताएका अध्यक्ष बैद्यले बार्ताका लागि तयार रहेको बताए । उनले निर्वाचन विथोल्ने सम्बन्धि सम्पूर्ण कार्यक्रम छिट्टै राजधानीबाटै सार्वजनिक गरिने बताए ।
नेकपा–माओवादीले चैत–१ गते चार दलले गरेको ११ बुँदे सहमति, अन्तिरिम संविधानमा भएको २५ बुँदे संशोधन र वर्तमान खिलराज रेग्मी नेतृत्वको चुनावी मन्त्रिपरिषद खारेजीको माग गर्दै आएको छ ।

प्रतिक्रिया