ब्राजिल फाइनलमा

Brazilरियो द जेनेरियो, १४ असार । रंगशालाबाहिर अश्रुग्यास र प्लास्टिकका गोली प्रहार गर्नुपर्ने गरी भएको सरकारविरोधी जनप्रदर्शनबीच घरेलु टोली ब्राजिल अन्तरमहादेशीय फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा घरेलु महादेश च्याम्पियन उरुग्वेको चुनौती २–१ ले पाखा लगाउँदै ब्राजिलले एक वर्षपछि आफँैले आयोजना गर्ने विश्वकपको उपाधिसमेत जित्ने दाबी प्रस्तुत गरेको हो । ब्राजिललाई खेल जित्न भने त्यति सजिलो भएन ।

पेनाल्टीमा डिएगो फोर्लानलाई रोक्दै सुरुवाती गोल खानबाट पछि परेको ब्राजिलपछि १–१ को स्थितिमा फर्किएको थियो तर ८६औँ मिनेटमा मिडफिल्डर पाउलिन्होले गोल गर्दै ब्राजिललाई फाइनलमा पुर्‍याएका हुन् । ब्राजिलले पछिल्ला दुई संस्करणको उपाधि जितेको थियो ।
ब्राजिलको यस जितमा पनि युवा फुटबर स्टार नेयमारको महत्त्वपूर्ण भूमिका रह्यो । उनले दुवै गोलमा अवसर सिर्जना गरेका थिए । नेयमारले गरेको कर्नर प्रहारमा पाउलिन्होले हेडमार्फत गोल गरेका थिए । यसअघि १४औँ मिनेटमा प्राप्त पेनाल्टी अवसरमा फोर्लान चुक्नु उरुग्वेका लागि ठूलै क्षति बन्यो । भेट्रान गोलकिपर जुलियो सिजरले सुन्दर तबरले फोर्लानलाई रोक्दै ब्राजिलको ठूलो खड्गो पार गरिदिए । र, खेलमा पहिलो अग्रता लिने अवसर ब्राजिलले आफ्नो पक्षमा पार्‍यो फ्रेडमार्फत ।
४१ औँ मिनेटमा फ्रेडले रिवाउन्डमा गोल गर्दै पहिलो हाफमा घरेलु टोलीलाई १–० ले अगाडि राखे । पाउलिन्होले बनाएको मुभमा नेयमारले गरेको प्रहार उरुग्वेका गोलकिपर फर्नान्डो मुस्लेराले असफल बनाए पनि रिवाउन्डमा फ्रेडलाई भने रोक्न सकेनन् । तर, मध्यान्तरलगत्तै उरुग्वेले खेल बराबरीमा ल्यायो । ४८औँ मिनेटमा गोल गरी एडिन्सन काभानीले उरुग्वेलाई खेलमा फर्काउने प्रयास गरेका थिए । यद्यपि ब्राजिल भने यसपछि लगातार आक्रमणको स्थितिमा देखियो ।
जितपछि ब्राजिलका खेलाडीहरु हर्षविभोर भएर मैदानमै रोएका थिए । ब्राजिल टोलीमा अधिकांश नयाँ र युवा खेलाडीको वर्चस्व छ । आगामी वर्ष हुने विश्वकपमा ब्राजिलको विश्वास यिनै खेलाडीमाथि छ । ‘यो विल्कुल नयाँ टिम हो,’ फाइनल पुगेपछि गोलकिपर सिजरले भने, ‘यस सफलताले विश्वकपका लागि सहयोग पुर्‍याउनेछ ।’
ब्राजिलले उपाधिका लागि रियो द जेनेरियो रंगशालामा स्पेन र इटालीमध्ये एकसँग प्रतिस्पर्धा गर्ने छ । प्रशिक्षक लुइज फेलिप स्कोलारीले फाइनलसम्मको यात्रा विश्वकपका लागि एउटा आशा मात्र भएको तर यत्तिमै सीमित हुन नहुने बताए । ‘विश्वकपका लािग अझै हामी तयार छैनौँ । हामी यस्तै सफलताबाट अगाडि बढ्नुपर्छ जसले हाम्रो टिम परिपक्व पार्दै लैजानेछ र विश्वकपसम्म हामी बलियो हुने छौँ ।’ सन् २००२ को विश्वकप आफ्नै प्रशिक्षणमा दिलाएका स्कोलारीले यस प्रतियोगितामार्फत आफूले खेलाडीमा भएको प्रगति देखाउन खोजेको र त्यसले उनीहरूमा आत्मविश्वास बढ्ने बताए ।
यता उरुग्वे भने पुन: एकपटक सेमिफाइनलमा सीमित भयो । यसअघि सन् २०१० को विश्वकपमा पनि उरुग्वे सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको थिएन । ब्राजिलको यति ठूलो सफलताबीच खेल भइरहेको रंगशालाबाहिरसहित देशभर सरकारविरोधी प्रदर्शन व्यापक थियो र ठाउँठाउँमा हिंसात्मक पनि बनेको थियो । विश्वकप तयारीका लागि सार्वजनिक यातायातसहित विभिन्न क्षेत्रमा जनताको ढाड सेक्ने काम भएको भन्दै हजारौँको संख्यामा भइरहेको प्रदर्शन यस प्रतियोगिता सुरु भएयता थप व्यापक बनेको छ ।

प्रतिक्रिया