प्राइमलाई उपाधि

bikeकाठमाडौं : प्राइमले प्रथम मोर्गन कप राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताअन्तर्गत महिलाको उपाधि बिहीबार जितेको छ । बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजमा भएको उपाधि भिडन्तमा प्राइमले गुरुकुललाई ३७–३० ले पाखा लगायो । ‘मोस्ट भेलुएबल प्लेयर’ प्राइमकी स्नेहा श्रेष्ठले १३ अंक जोडिन् । स्नेहाले ५ हजार नगद पुरस्कार जितिन् । गुरुकुलकी सीमा कार्कीले पनि १३ स्कोर गरिन् । पहिलो क्वाटरमा १०–७ को अग्रता लिएको प्राइम दोस्रोमा १५–७ ले अघि रह्यो । तेस्रोमा प्राइम ६–११ ले पछि पर्‍यो । अन्तिम तथा चौथो क्वाटरमा प्राइमले ६–५ स्कोर गर्‍यो ।
उपाधिसँगै प्राइमले २५ हजार नगद पुरस्कार हात पार्‍यो । गुरुकुलले १५ हजार नगदमा चित्त बुझायो । अघिल्लो दिन बुधबार पुरुषको उपाधि नासाले जितेको थियो । पुरुषमा पनि महिलासरह नै नगद पुरस्कारको व्यवस्था थियो । नेपाल बास्केटबल संघको आयोजनामा असार ६ गतेदेखि सुरु प्रतियोगिताको पुरुष र महिलामा समान ६–६ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । (सौस)

प्रतिक्रिया