सडकमा विनियोजित रकम फिर्ता हुदै

खोटाङ : खोटाङमा निर्माण उपभोक्ता समितिको निष्क्रियताले सडक निर्माणमा विनियोजित रकम फिर्ता हुने अवस्था सिर्जना भएको छ ।
जिल्लाका ११ वटा उपभोक्ता समितिले निकासा गरेका पेस्की रकम फस्र्याेट नगरेको र आर्थिक वर्षको अन्त्य हुने समयसम्म पनि बाँकी कार्यक्रमको सम्झौता नभएकाले करिब एक करोड ५० लाख बराबरको रकम फिर्ता हुने अवस्था आएको हो । जिल्लाका स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रमअन्तर्गतका पेस्की रकम लिने ९ र जनसहभागितामा आधारित विकास कार्यक्रमअन्तर्गतका दुई उपभोक्ता समितिले पेस्की फस्र्यार्ेट गर्न बाकी छ । जिल्लाको रसुवाघाट–सिम्पानी–खोटाङबजार सडक, मनमाया राई खानीडाँडा एअरपोर्ट र्‍यापको दिक्तेल जोड्ने सडक, लामिडाँडा–ऐसेलुखर्क सडक, दिक्तेल–पाथेका ग्रामीण सडकका उपभोक्ता समितिले पेस्की रकम फस्र्याेट गरेको छैन ।
यस्तै, च्यानडाँडा–मानेभञ्ज्याङ–छितापोखरी ग्रामीण सडक, दिक्तेल–खोटाङबजार ग्रामीण सडक कुलगउ खण्ड, धाप्लाङ–चिसापानी ग्रामीण सडक, रसुवाघाट–थालेचौर–इन्द्राणिपोखरी सडक, राईघाट–च्यास्मिटार ग्रामीण सडक, रसुवाघाट–सिम्पानी–खोटाङबजार–पान्धारे सडक र च्यानडाँडा–छितापोखरी सडकका निर्माण उपभोक्ता समितिले पेस्की फस्र्याेट नगरेको जिल्ला विकास खोटाङले जनाएको छ ।
उता आफूहरूले समयमै काम सम्पन्न गरेको भए पनि जिल्ला विकास समितिले योजना फस्र्याेट नगरेको च्यानडाँडा–छितापोखरी सडकका निर्माण उपभोक्ता समितिका अध्यक्ष सिमिराज राईले बताए । उनले भने, ‘आफूहरूले पटक–पटक योजना अनुगमन गर्न आग्रह गरे पनि जिविसले चासो नदिएकाले यस्तो समस्या आएको हो ।’ स्थानीय पूर्वाधार विकासमा रोजगारी सिर्जना गर्ने राज्यको नीति र निर्देशनविपरीत उपभोक्ता समितिले स्काभेटर, डोजरजस्ता उपकरण प्रयोग गरेर सडक निर्माण गरेपछि रकम फिर्ता हुने अवस्था आएको स्थानीय विकास अधिकारी युवराज अधिकारीले बताए । ‘ठूला उपकरण प्रयोग गर्दै नगर्नु भन्ने मन्त्रालयको निर्देशन र अख्तियार छ तर, उपभोक्ता समितिले ठूला उपकरण प्रयोग गरेकाले पनि सम्झौता विपरीत पेस्की रकम फस्र्याेट गर्न नसकिएको हो,’ उनले भने ।
यसमा राजनीतिक दलले समेत गम्भीरतासाथ नलिएको उनको भनाइ छ । आफूले जिल्लाका राजनीतिक दलसँग अनुरोध गरे पनि समयमै ध्यान नदिएकाले यस्तो अवस्था आएको अधिकारीले जानकारी दिए । जिल्लास्थित चार दलले भने निर्माणाधीन अवस्थाका योजनालाई निरन्तरता दिन र रकम फिर्ता हुनबाट रोक्न जिल्ला विकास समितिसँग सहमति गरेको बताएका छन् । जिल्लास्थित एमाओवादी, कांग्रेस, संघीय समाजवादी र नेपाल कम्युनिस्ट पार्टीले निर्माणाधीन योजनालाई निरन्तरता दिन र अवरुद्ध योजनालाई नयाँ निर्माण उपभोक्ता समितिमार्फत सुचारु गराउने सहमति गरेको संघीय समाजवादी पार्टी खोटाङका अध्यक्ष सूर्यबहादुर राईले बताए । यसैबीच, दमकबाट प्राप्त समाचारअनुसार झापाको कनकाई नदी र रतुवा–मावा नदी नियन्त्रणका लागि कार्यरत जनताको तटबन्धन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
तटबन्धन फिल्ड कार्यालय नम्बर १ गैँडे झापाले यो वर्षको सम्भावित बाढी कटान नियन्त्रणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कार्यालयका वरिष्ठ इन्जिनियर तथा तटबन्धन कार्यक्रम प्रमुख रमेश बस्नेतका अनुसार तटबन्धन कार्यक्रमअन्तर्गत नदी कटान हुने सम्भावित क्षेत्रमा बाढीको बहाव हेरी तार जाली, स्पर, कच्ची बाँध आदि निर्माण सम्पन्न गरिएको हो ।

प्रतिक्रिया