जिल्ला अस्पताल पाँच महिनादेखि डाक्टरविहीन

डोल्पा, १४ असार । सदरमुकाम दुनैस्थित डोल्पा जिल्ला अस्पताल पाँच महिनादेखि डाक्टरविहीन छ ।

दुईवटा डाक्टरको दरबन्दी रहेको अस्पतालमा सरकारले दरबन्दीअनुसारको डाक्टर पठाउनुको सट्टा भएका एक जना डाक्टरलाई पनि जुम्ला अस्पतालमा सरुवा गरेदेखि अस्पताल डाक्टरविहीन बनेको हो ।
डाक्टर नहुँदा सामान्य स्वास्थ्य परीक्षणका लागि नेपालगन्जलगायत सहरमा जानुपर्ने बाध्यता डोल्पालीको छ । वर्षायामसँगै जिल्लाका सर्मी, काइगाउँ, रिमी, पाहाडा, लिकु, त्रिपुराकोट, सुं, माझफाललगायत गाविसमा ज्वरो, आउँ, झाडापखाला, निमोनिया र खोकी रोगको प्रकोप फैलिएको छ ।
जिल्ला अस्पताल यतिखेर वरिष्ठ अहेब सम्झना बुढाथोकीको भरमा चलेको छ भने गाविसमा रहेका स्वास्थ्य चौकीमा सिटामोललगायत औषधिको अभाव भएको छ ।
अस्पताल र गाविसमा रहेका स्वास्थ्य केन्द्रमा औषधिको नाममा सिटामोल र जीवनजलसमेत नभएपछि सर्वसाधारण महँगो मूल्य तिरेर निजी क्लिनिकमा उपचार गराउन बाध्य छन् । त्रिपुरा सुन्दरी मेडिकलका सञ्चालक कविप्रसाद उपाध्यायले दैनिक आफूकहाँ आउँ, झाडापखाला, ज्वरो, रक्तअल्पता र निमोनियाका बिरामी २० देखि २५ जनाको संख्यामा आउने गरेको बताए ।
डोल्पा नागरिक समाजले छिटोभन्दा छिटो डाक्टरसहित औषधिको व्यवस्थाका लागि पहल गर्न प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ र जिल्लास्तरीय राजनीतिक दलहरूलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

प्रतिक्रिया