प्रवेश परीक्षाको उत्तरपुस्तिका परिषद्ले हेर्ने

काठमाडौं १४ असार । प्लस टुको भर्नाका लागि कलेजहरूले लिने प्रवेश परीक्षाका कापी पनि अब उच्च माध्यमिक शिक्षा परिषद्ले हेर्ने भएको छ ।

परिषद्ले कलेजले भर्नाका लागि लिइने प्रवेश परीक्षाको मापदण्ड पूरा गरे/नगरेको हेर्नका लागि लागि विद्यार्थीको प्रवेश परीक्षाको कापी हेर्ने भएको हो । कलेजहरूले प्रवेश परीक्षाका नाममा लिइने परीक्षामा अनियमितता गर्ने भएकाले परिषद् हेर्ने थालेको हो ।
परिषद्का प्रवक्ता नारायण कोइरालाले प्रवेश परीक्षाका नाममा अनियमिता गर्ने भएकाले कापी हेर्न थालिएको बताए । ‘प्रवेश परीक्षा एउटा नियममा सञ्चालन हुनुपर्दछ । कलेजहरूले आफैँले बनाएको मापदण्ड हेर्नका लागि कापी हेर्न थालिएको हो,’ उनले भने ।
परिषद्ले कलेजहरूलाई ६ महिनासम्म प्रवेश परीक्षाको कापी सुरक्षित राख्नसमेत निर्देशन दिइसकेको छ । परिषद्ले कुनै पनि बेला परीक्षाका कापी चेक गर्नसक्ने छ । विज्ञहरूको समूह बनाएर परिषद्ले सबै कलेजमा विद्यार्थीको प्रवेश परीक्षाको कापी हेर्नेछ ।
विज्ञहरूको समूहले प्रत्येक कलेजको मापदण्डअनुरूप प्रवेश परीक्षा लिए नलिएको नमुना कापी चेक गर्ने सहसचिव कोइरालाले बताए । मापदण्डअनुसार कापी परीक्षण नगरेको पाइएमा कारबाही हुने उनले बताए ।
कलेजले कापी परीक्षण गर्दा अपनाउनुपर्ने नियम पालना गरेका छन् कि छैनन् र पास हुनेलाई फेल गरेका छन् कि छैनन् जस्ता विषय हेर्नका लागि कापी परीक्षण गरिने अनुगमन समितिका सदस्य सुप्रभात भण्डारीले बताए ।
यसैबीच परिषद्ले कलेजहरूले आचारसंहिता पालना गरे/नगरेको अनुगमन गर्ने भएको छ । देशभरका प्लस टु कलेजहरूमा विज्ञापन, भर्नालगायत विषयमा अनुगमन गर्ने प्रवक्ता कोइरालाले बताए । परिषद्ले कलेजहरूलाई साउनबाट मात्र कक्षा सञ्चालन निर्देशन दिएको छ । राजधानीका कलेजहरूले प्रवेश परीक्षा लिएलगतै कक्षा सञ्चालन गर्ने गरेका थिए ।

प्रतिक्रिया