मापदण्डविपरीतका निजी विद्यालय बन्द गर्न निर्देशन

विराटनगर, १४ असार । जिल्ला शिक्षा कार्यालय मोरङले अनुमति नलिई र मापदण्ड पूरा नगरी सञ्चालन गरिएका जिल्लाका झन्डै तीन दर्जन निजी विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

सरोकारवालासमेतको सहभागितामा गरिएको अनुगमनका क्रममा केही विद्यालयले अनुमति नै नलिई तथा केहीले मापदण्ड पूरा नगरी सञ्चालन गरिरहेको पाइएपछि बन्द गर्न निर्देशन दिइएको हो । जिल्ला शिक्षा कार्यालय मोरङका अनुसार हालसम्म अनुगमनका क्रममा ३१ वटा निीज विद्यालयले अनुमति नलिएको तथा मापदण्ड पूरा नगरेकाले बन्द गर्न निर्देशन दिइएको छ । मोरङका जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले मोरङका विभिन्न क्षेत्रमा गरिएको अनुगमनका क्रममा ३१ वटा विद्यालय बन्द गर्न निर्देशन दिइएको बताए । ‘अन्य क्षेत्रमा पनि अनुगमनको क्रम जारी छ,’ जिल्ला शिक्षा अधिकारी बरालले भने, ‘ती ठाउँमा पनि अनुमतिविना सञ्चालन गरिएका र मापदण्ड पूरा नगरेका विद्यालय भेटिए बन्द गराउँछौँ ।’ जिल्लाका विभिन्न क्षेत्रमा विनाअनुमति निजी विद्यालय सञ्चालन गरेको पाइएकाले बन्द गर्न निर्देशन दिएको र अझै अटेर गरे विद्यालयको अनुमति नै खारेज गरिने जिशिअ बरालले जानकारी दिए ।
निजी विद्यालय सञ्चालन गर्न आवश्यक मापदण्ड पूरा गर्दै अनुमति लिनुपर्ने व्यवस्था भए पनि मनपरी ढंगबाट सञ्चालन गरेको पाइएकाले गैरकानुनी रूपमा खुलेका निजी विद्यालय तत्काल बन्द गर्न निर्देशन दिएको हो । लापरबाही तरिकाबाट सञ्चालन गरिएका निजी विद्यालय बन्द नगरिए सञ्चालकमाथि नै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने शिक्षा अधिकारी बरालको भनाइ छ । जिल्ला शिक्षा कार्यालयको मातहतमा भएको अनुगमनमा मोरङ डागीहाट–५ को श्री मोरङ ज्ञानोदय इंग्लिस स्कुलमा अनुगमन गर्दा कक्षा ७ सम्मको स्वीकृति लिएको पाइए पनि कक्षा १० सम्म सञ्चालन गरिएको पाएको थियो । स्वीकृति नपाएको कक्षा सञ्चालन तत्काल खारेज गर्न निर्देशन दिएको हो । अनुगमनमा पुगेको टोलिलाई आफ्नो स्कुलमा कक्षा सातसम्म मात्र पढाइ हुने गरेका बताएको भए पनि निरीक्षणका क्रमा भेटिएका हाजिरी खाता बिल भौचरहरूले कक्षा १० सम्म पढाउने गरेको पुष्टि गरको थियो । स्कुलको प्रायोजनमा कुदाइने सवारीकासाधनको कलर पहेँलो हुनु पर्ने भए पनि लापरबाही गरी बेवास्ता गरेको पाइएको थियो । यता स्कुलको आसपासमा जंक फुटको प्रयोग र पसलहरू १०० मिटर पर राख्नुपर्ने भए पनि स्कुलकै प्रांगणमा पाइएको थियो ।
बन्द गर्न आदेश दिएका विद्यालयमा होलिल्यान्ड स्कुल आमतोला, रंगेलीका सेन्ट ग्लोरी बोर्डिङ, कलावरी बोर्डिङ स्कुल, टकुवाका सेभेन स्टार बोर्डिङ र गोल्डस्टार, गोविन्दपुरको अर्किड बोर्डिङ स्कुल, अमरदहको युनिभर्सल बोर्डिङ स्कुल, हसन्दहको ब्लिम एकेडेमी, सांग्रिला एकेडेमी, पथरीका पस्र्युट बोर्डिङ स्कुल, चिनारी बोर्डिङ स्कुल, अमर एकेडेमी, प्यागोडा एकेडेमीलगायत रहेका छन् ।
त्यस्तै, डागिहाटको सनसाइन स्टार इंग्लिस स्कुल, सर्चलाइट इंग्लिस स्कुल पपुलर इंग्लिस स्कुल, बयरबनको बालजोति एकेडेमी न्यु देवकोटा मेमोरयिल स्कुल, आइतबारे बयरबनका आदर्श इंग्लिस स्कुल, मधुमल्लाको निर्मल सिद्धार्थ इंग्लिस बोर्डिङ, तोरी विद्या मन्दिरलगायत रहेका छन् ।
जिल्ला शिक्षा कार्यालय अभिभावक संघ, प्याब्सन, एनप्याब्सनको संयुक्त टोलीले अनुगमन गरेर ती विद्यालय बन्द गर्न निर्देशन दिएको प्याब्सन मोरङका अध्यक्ष खम्बसिंह बस्नेतले बताए । अनुगमनमा सहभागी अभिभावक संघका क्षेत्रीय संयोजक देवी पन्थीका अनुसार ती विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई समेत बोलाई आफ्ना छोराछोरीलाई अन्य विद्यालयमा सार्न भनिएको छ । बन्द गर्न आदेश दिइएका विद्यालय पुन: सञ्चालन गरे प्रहरीसहितको टोलीले बन्द गर्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया