देउखुरीलाई बचाउन ८४ करोड

dangkoदेउखुरी, १२ असार । दाङको देउखुरीलाई डुबानबाट बचाउन ८४ करोड बराबरको बृहत् योजना बनेको छ । नेपाल सरकारकारअन्तर्गत रहेको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही दाङले लामो अध्ययनपछि देउखुरीका खोलामा तटबन्ध गरी बाढीसम्बन्धी समस्या दीर्घकालीन बरूपमा समाधान गर्न विस्तृत स्टिमेट तयार गरेको कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

‘देउखुरीलाई डुबानबाट बचाउन ८४ करोड दुई लाख ४५ हजार रुपियाँबराबरको विस्तृत गुरुयोजना बनेको छ,’ चौधरीले भने, ‘योजना लागू भएमा तीन वर्षदेखि ६ वर्षको बीचमा देउखुरीलाई डुबानबाट बचाउन सकिन्छ ।’
गत वर्ष आएको बाढीका कारण देउखुरीमा तीन सर्वसाधारण, एक उद्धार कार्यक्रममा संलग्न सशस्त्र प्रहरी जवान गरी चार जनाको मृत्यु भएको थियो भने एक सय ६५ घर पूर्णरूपमा बगेका थिए । राप्ती नदी र आसपासका खहरे खोलाबाट देउखुरीका लालमटिया, सिसहनिया, सोनपुर र चैलाही गाविस बढी प्रभावित भएको र त्यस क्षेत्रका १६ बढी गाउँलाई सुरक्षित बनाउन विस्तृत योजनाअनुसार तटबन्ध गर्नुपर्ने देखिएको छ ।
बाढीका कारण चार गाविसका २१ सय ८० घरधुरी र त्यसमा बसोबास गर्ने १३ हजार ८० जना व्यक्ति प्रत्यक्ष प्रभावित भएको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयको तथ्यांकले देखाएको छ । बाढीका कारण पिपरी, कोहलुवा, कालापानी, लठ्ठहवा, सिंगे, डोढईलगायत १६ गाउँ बढी प्रभावित छन् । दीर्घकालीन समस्या समाधानका लागि गुरुयोजना निर्माण भए पनि बजेटको अभाव देखिएको छ ।
अहिलेसम्म गुरुयोजना अन्तर्गत नेपाल सरकारबाट ९५ लाख बजेट निकासा भएको र सो रकम सिसहनिया, लालमटिया र सोनपुर गाविसका खोलामा तत्काल बाढी जोखिम न्यूनीकरणका लागि तटबन्ध गरिएको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्रमुख चौधरीले बताए ।
‘बाढीको जोखिम रहेका ठाउँमा तत्काल तटबन्ध गर्ने काम भएको छ,’ उनले भने, ‘अहिलेसम्म चार सय मिटरमा तटबन्ध गरिएको छ भने अझै करिब दुई सय ९० मिटर क्षेत्रमा तटबन्ध गर्ने काम जारी छ ।’ उपभोक्ता समितिबाट जनश्रमदानमा तटबन्ध गर्ने काम भइरहेको छ । तटबन्धका लागि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट ९५ लाख, जिल्ला विकास समितिबाट पाँच लाख र स्विस दूतावासले उपलब्ध गराएको साढे १७ लाख रुपियाँ पर्यावरणीय दिगो विकास संस्थामार्फत तटबन्धमा खर्च भएको छ । ‘अहिलेसम्म खर्च भएको विवरण यही हो,’ चौधरीले भने, ‘रकमको अभाव हुँदा काम गर्न गाह्रो छ, पैसा अन्तिममा आयो काम गर्न अहिले गाह्रो भए पनि उपभोक्ताको सहभागितामा काम भइरहेको छ ।’
जिल्ला विकास समितिले उपलब्ध गराएको पाँच लाख रकमबाट सोनपुर–१ र २ नम्बर वडामा तारजाली लगाउने काम भइरहेको छ । डोढई गाउँका ७५ घरधुरी र सिंगेका १० घरधुरी बाढीका कारण प्रत्यक्ष प्रभावित छन् । सिंगे पुल तल १० थान जाली लगाइएको छ । त्यसका साथै डोढईमा ५७ थान जाली लगाउने काम भइरहेको बाढीपीडित तथा तटबन्ध सहयोग समितिका सदस्य लोकराज सेढाइंले बताए । ‘बजेट अभावका कारण थोरै काम भइरहेको छ,’ उनले भने, ‘यस वर्ष आउने बाढी बच्न तत्काल काम सुरु गरेका हौँ ।’
गुरुयोजना कार्यान्वयनको माग राख्दै राजधानी जाने तयारी बृहत् गुरुयोजना कार्यान्वयनको माग राख्दै एक टोली पुनः काठमाडौं डेलिगेसन जाने भएको छ । लालमटिया, सिसहनिया, सोनपुर र चैलाही गाविससम्म बग्ने खहरे खोलाहरूमा तटबन्धका लागि ८४ करोड बराबरको गुरुयोजना तयार भएको र गुरुयोजनाअनुसार बजेट विनियोजनको माग राख्दै दबाब दिन एक टोली असार १५ गते काठमाडौं डेलिगेसन जाने तयारी गरेको हो ।
दोलई खोला तटबन्ध निर्माण सहयोग समितिको सिसहनियामा सम्पन्न बैठकले बजेट विनयोजनका लागि दबाब दिन काठमाडौं डेलिगेसन जाने निर्णय गरेको समितिका संयोजक गंगाराम भट्टराईले जानकारी दिए । उनका अनुसार काठमाडौंमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत टोलीलाई भेटेर बजेट विनियोजन गर्न दबाब दिइनेछ । टोलीमा सर्वपक्षीय रूपमा अगुवा व्यक्तिहरूलाई सहभागी गराइनेछ ।

२६ घर बसाइ सरे

२०६२ कात्तिक २ गते पनि गाउँमा बाढी पस्यो । त्यसपछि गत वर्ष साउन ३ र १९ गते अनि भाद्र १३ गते पनि विस्थापित हुने गरी बाढी पसेपछि सिसहनिया–६ कोहलुवा गाउँका २६ जना बसाइँ सरी अनेत्र गइसकेका छन् । ‘गाउँमा बाढी पस्न थालेपछि बसाइँ सर्ने क्रम बढ्यो,’ स्थानीय खिमबहादुर केसीले भने, ‘एक सय ८ घर धुरी रहेको हाम्रो गाउँ अहिले ८२ घरधुरीमा मात्र सीमित बन्यो ।’ दोलई खोलामा आउने बाढी गाउँमा सोझै पस्ने गरेकाले समस्या थपिएको हो । तर, यस वर्ष कोहलुवा गाउँलाई मध्यनजर गरी दोलई खोलामा तटबन्ध गरिएपछि बाढी पस्ने ६५ घर पूर्णरूपमा जोगिएका छन् । ‘तटबन्ध गरिएपछि यस वर्ष आएको बाढी गाउँमा पस्न सकेन’ खिमबहादुरले भने, ‘अब भने केही ढुक्क महसुस भएको छ ।’
खोलामा तटबन्धका लागि यो गाउँमा सर्वसाधारणले आलोपालो जनश्रमदान गरे । २८/२८ दिनसम्म जनश्रमदान गरेको केसीले बताए । ‘यो संरचना हामीले बनाएको हो,’ तटबन्धतर्फ देखाउँदै केसीले भने, ‘तटबन्धमा हाम्रो पनि लगानी लागेकाले संरक्षणमा पनि हामीउत्तिकै गम्भीर छौँ ।’
स्थानीय दोलई, सिंगेलगायत खोलामा आउने बाढी बस्तीमा पस्ने भएकाले बढी समस्या देखिएको हो । प्रगन्ना कुलो सिँचाइ आयोजनाद्वारा करोडौँ रकम खर्चेर बनाइएका संरचना फैलिएर बन्दै गएका कारण पनि खोलाको पानी बस्तीमा पस्ने गरेको छ । त्यसका साथै पूर्वपश्चिम महेन्द्र राजमार्गमा पानी निकासका लागि कम मात्रामा कल्भर्ट बनाइएकाले पानी तालिदा आकासे पानी पनि बस्तीमा पस्ने र धनजनको क्षति गर्ने गरेको छ ।

प्रतिक्रिया