चिनियाँ ऋणपत्रमा लगानी गर्न दुई केन्द्रीय बैंकबीच सम्झौता

काठमाडौं, ९ असार । नेपाललाई चीनको सरकारी ऋणपत्रमा लगानी गर्न बाटो खुलेको छ । गत शुक्रबार लगानी सम्बन्धी सम्झौतापत्रमा नेपाल राष्ट्र बैंक र चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाका अधिकारीले हस्ताक्षर गरेका छन् । राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाको उपस्थितिमा डेपुटी गभर्नर गोपालप्रसाद काफ्ले र पिपल्स बैंक अफ चाइनाकातर्फबाट डेपुटी गभर्नर हु जियाओ लियानले ‘चीनको अन्तरबैंक ऋणपत्र बजारमा लगानी गर्ने सम्बन्धी एजेन्सी सम्झौतामा शुक्रबार हस्ताक्षर गरे ।

चीनको केन्द्रीय बैंकले नेपाललाई सरकारी ऋणपत्रमा लगानी गर्न पहिलो चरणमा २० करोड डलरको सीमा दिएको छ । एक अर्ब २० करोड युआन अर्थात् १९ अर्ब नेपाली रुपियाँ लगानी गर्न पिबिसीले अनुमति दिएको हो । राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार चीनले लगानी सीमा बढाउनेछ ।
अमेरिकी, अस्ट्रेलियन, क्यानेडियन, हङकङ डलर तथा भारु र येनमा लगानी गर्दै आएको केन्द्रीय बैंकले पहिलोपटक युआनमा लगानी गर्न लागेको हो । अन्य मुद्राको तुलनामा युआनमा लगानी गर्नु केन्द्रीय बैंकलाई नाफाको व्यापार हुनेछ । अन्यत्रको लगानीबाट डेढ दुई प्रतिशतसम्म प्रतिफल प्राप्त हुने गरेको छ । युआनको लगानीबाट चारदेखि पाँच प्रतिशतसम्म प्रतिफल प्राप्त हुन सक्ने विश्लेषण नेपालमा गरिएको छ । प्रतिफल मात्रै नभएर चीनसँग व्यापार साझेदारी, भुक्तानी प्रणालीमा सघाउ पुग्नुको साथै चीनको केन्द्रीय बैंकमा समेत नेपाली केन्द्रीय बैंकको पहुँच पुगेको राष्ट्र बैंकले अधिकारीले बताए । चिनियाँ बैंकलाई नेपालमा शाखा विस्तार गर्न, संयुक्त लगानीको वित्तीय संस्था खोल्न, सीमा क्षेत्रमा शाखा विस्तार गरेर व्यापार भुक्तानी प्रणालीलाई सहज पुर्‍याउनसमेत मद्दत पुग्ने देखिन्छ । समझदारीले केन्द्रीय बैंकको विदेशी विनिमय लगानीलाई विविधीकरण गर्दै लैजाने रणनीतिलाई सहयोग पुर्‍याउने तथा नेपालको प्रमुख व्यापारिक साझेदार मुलुक चीनसँगको व्यापार भुक्तानी प्रणालीलाई सहज बनाउन सहयोग पुग्ने राष्ट्र बैंकले जनाएको छ । छलफलका क्रममा दुई देशबीच बैंकिङ सेवा विस्तार, त्यसका लागि केन्द्रीय बैंकले गर्न सक्ने सहजीकरण, औपचारिक व्यापारका लागि बैंकिङ क्षेत्रबाट भुक्तानी व्यवस्थापन गर्नेलगायतका विषयमा छलफल भएको थियो । गभर्नर खतिवडाले दुवै मुलुकका मुद्रालाई द्विपक्षीय रूपमा स्वीकार गर्ने व्यवस्था र दुई केन्द्रीय बैंकका मानव संशाधनको दक्षता अभिवृद्धिमा कर्मचारी साटफेरसम्बन्धी सहकार्यका लागि समेत आग्रह गरेका थिए ।

प्रतिक्रिया