किताबको संसारमा डुलिहिँड्दा

Netra-Acharyaसाहित्य संवाद
विद्वान् साहित्यकार मोदनाथ प्रश्रित कार्यक्रम स्थलमा डुली–डुली पाँच रूपियाँ पर्ने एउटा पुस्तक बिक्री गर्दै थिए ।­ मैले पनि किनेँ । पुस्तक थियो— ‘मन्त्रीजी’ नामको लघुनाटक । प्रश्रित स्वयंले प्रकाशन गरेका रहेछन् । चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रांगणमा आयोजित त्यो साहित्यिक कार्यक्रममा यसप्रकार जम्काभेट भएका प्रश्रित त्यसताका मेरा एक प्रिय लेखक थिए । गाउँमै छँदा मैले उनका ‘अतीतका पाइलाहरू,’ ‘गोलघरको सन्देश,’ ‘केही सांस्कृतिक निबन्धहरू’ लगायत पुस्तक पढेको थिएँ । उनलाई सामुन्ने भेट्न पाउँदा मलाई केही सोधपुछ गर्न मन भयो ।
पुस्तक ओल्टाइपल्टाई गर्दै मैले भनेँ, ‘सरलाई भेटेर केही सल्लाह लिनु थियो ।’
‘त्यसो भए यो कार्यक्रम सकिएपछि है त’ प्रश्रितले छेउको ग्राहकबाट पाँच रूपियाँ लिँदै भने ।
कार्यक्रम सकिँदा झमक्क साँझ
परिसकेको थियो । प्रश्रितले अब मलाई समय देलान् त ? म खुल्दुलिइरहेको थिएँ । प्रश्रित भाषण सकेर फेरि कुर्सीतिरै आए र मञ्च पछाडि चियाए । म त्यहीँ थिएँ । हल्का अगाडि सरेँ ।
‘ढिला भइसकेको छ, हिँड्दै कुरा गरौँ है’ भुइँबाट ‘मन्त्रीजी’ नामको लघुनाटकको पुस्तक भरिएको झोला आपैँmले उठाउँदै प्रश्रितले भने ।
मैले हल्का आºनो परिचय दिएँ र आजसम्म पढेका पुस्तकबारे उनलाई बताएँ । सोधेँ— अब अगाडि के पढ्नु राम्रो होला सर ?
‘तपाईंको रुचि दर्शनतिर देखियो । पहिला त ‘दर्शन—दिग्दर्शन’ पढ्नुहोस् । राहुल सांकृत्यायनले लेखेको यो पुस्तकले मानव जातिको दार्शनिक चिन्तनको विकासक्रम बताउँछ । राहुलकै अर्को पुस्तक ‘मानव समाज’ पनि पढ्नुहोस् । समज विकासको वैज्ञानिक पद्धतिबारे जानकार हुनु उत्तिकै आवश्यक छ । अनि, मैले लेखेका ‘मानव महाकाव्य,’ ‘नारी बन्धन’ र ‘मुक्ति’ पढ्नुहोला । यी सबै पुस्तक नारायणघाटको जोशी पुस्तक पसलमा पाइन्छन् । अन्यथा काठमाडौं डिल्लीबजार उकालोमा प्रगति पुस्तक सदनमा पनि पाइन्छन् । संस्कृत पढ्न थाल्नुभएको रहेछ । धेरै राम्रो हो । साहित्य र दर्शनको मूल थाहा पाउन र गहिराइमा जान संस्कृतको ज्ञान अत्यावश्यक छ । बरु परम्परागत ढंगले पढ्नु आवश्यक छैन । घोकन्ते पाराले पढ्दा लामो समय खेर जान्छ । शब्द र धातुका रूपहरू मुखाग्र गर्ने, सामान्य व्याकरणका नियम बुझ्ने र अमरकोश पढ्ने गर्‍यो भने पुग्छ । कालिदासको रघुवंश महाकाव्य पढ्नुहोला । यो रोचक र ज्ञानबद्र्धक पनि छ ।’
प्रश्रितको सल्लाहले मार्गदर्शन र हौसला दुवै भयो । म विदा भएँ । रात परिसकेको थियो । अब त्यसबेलाको मेरो बासस्थान देवघाट गुरुकुलमा पुग्न सम्भव थिएन । मैले खाजा खाएर बचेको पैसा एउटा होटलमा दिएँ र बास बसेँ । केही दिनमा उनले भनेका सबै पुस्तक खोजेर पढेँ । यद्यपि म बस्ने गुरुकुलमा मोदनाथ कुख्यात विद्वान्का रूपमा चिनिँदा रहेछन् । मोदनाथले हिन्दू धर्मको भण्डाफोर गरे, जनैको गरिमा गिराए, देवीदेउताको दोहोलो काढे र तल्लो जातलाई काँधमा चढाए भन्ने आरोप रहेछ । मैले उनको ‘मानव महाकाव्य’ पढ्दै थिएँ । मेरो हातमा यो पुस्तक कसैले देखेमा मेरो खैरियत रहने थिएन । हत्तपत्त मैले त्यस पुस्तकमा मोटो गाता राखेँ । अगाडिका केही पृष्ठ स्टिच गरिदिएपछि यो मोदनाथको पुस्तक हो भन्ने कसैले भेउ पाएन ।
अध्ययनको पृष्ठभूमि
आदित्यस्योदयस्तात: ताम्बुलं भारती कथा ।
इष्टा भार्या सुमित्रञ्च अपूर्वाणि दिने दिने ।।
सूर्योदय, पान, महाभारतको कथा, मन परेकी पत्नी र मन मिल्ने साथी दिनदिनै अपूर्व आनन्ददायी हुन्छन् । यो आनन्द बालक अवस्थामा वर्णनातीत हुन्थ्यो । हजुरबा महाभारतको कथा वाचनमा माहिर हुनुहुन्थ्यो । छेउमा बसेर सिलोक सुन्न कम्ती मजा हुन्थेन । ती दिनहरू स्मृतिमा उग्राएर अझै आनन्दमग्न हुन्छु म । महाभारत विश्वकै आदि महाकाव्य रहेछ, पछि थाहा भो’ । भनिन्छ, एक लाख श्लोक भएको यो महाकाव्यको व्यापक प्रभाव आँकलन गर्न पनि मुस्किल छ । अध्ययनशील हुनमा अधीक प्रेरणा दिने मेरो प्रथम महत्त्वपूर्ण पुस्तक त्यही थियो ।
यद्यपि तिनैताका युधिर थापा र प्रकाश कोविदका पुस्तक आइलागे । ‘अटूट सम्झना,’ ‘लुकेको समाज,’ ‘नीलो पछ्यौरी,’ ‘सिस्टर कल्पना’ यस्तैयस्तै । रतिरागले भरिएका ती पुस्तकले ज्ञान त होइन पढ्ने बानी बसाल्न भने मद्दत पुर्‍याएको हुनुपर्छ । संयोगले गाउँको एउटा गोप्य पुस्तकालयसम्म पहुँच भयो । पञ्चायती शासनको आखिरीतिर पर्वतको बाजुङ गाउँका जोशिला वामपन्थी युवाहरूले स्थापना गरेको त्यो प्रगतिशील पुस्तकालय विभिन्न कारणले मेरो अध्ययन जीवनको कोशे ढुंगा थियो ।
पहिलो त, विश्व साहित्यका गहकिला पुस्तक मैले त्यहीँबाट पढ्न पाएँ । एन्टोन चेखबका चुनिएका कथाहरू, म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यास, मिखाइल लेर्मेन्तोभको हाम्रो जमानाको चरित्रनायक, मोदनाथ प्रश्रित र पारिजातका चर्चित पुस्तकहरू । माध्यमिक विद्यालयको छात्र हुँदा पढ्न पाएका यी पुस्तकले गाउँबाहिरको विशाल संसारसँग मलाई परिचित गराए । यी पुस्तकले गाउँको असभ्यता, फोहोरी चालचलन, ठूलाठालुले गर्ने शोषण र थिचोमिचोको प्रतिवाद गर्ने हिम्मत र साहस दिए, कम्तीमा समाजमा के भइरहेछ म जानकार भएँ ।
कलेजका प्रारम्भिक दिनहरूमा प्रेमचन्द र शरच्चन्द्रका उपन्यासहरू पढ्न पाइयो । शरच्चन्द्र चटोपाध्यायको शेष प्रश्न नामको उपन्यासले वैचारिक रूपले अलि बढी नै उद्वेलित गरायो । उपन्यासकी नायिका कमलाका संवादहरू म आज पनि झल्झली सम्झन्छु ।
यी विलक्षण नायिकाका जीवनप्रति उद्गारहरू अद्भूत थिए— जीवन क्षणिक छ, बाँच्नु एक भ्रम मात्र हुन सक्छ । तर, हरेक क्षणलाई साँचो ठानेर जिउन सक्नेले जीवनलाई अर्थपूर्ण सावित गरिदिन सक्छ । दु:खको रापले बितिसकेको सुखको थोपालाई सुकाउन नपाओस्, एक दिनको आनन्द दोस्रो दिनको निरानन्दको अगाडि नसरमाओस् । बस्, यत्ति भए पुग्छ ।
मानिसलाई ऊ अपूर्व गरिमामय सम्झिन्छे । भन्छे– कुनै देशको वैशिष्ट्यको निम्ति मनुष्य होइन, बरु मनुष्यकै निम्ति त्यस वैशिष्ट्यको आदर छ । मनुष्यभन्दा बढ्ता मनुष्यको विशेषता हुन सक्दैन ।
उसले मनलाई यति निर्विकार पारिसकेकी छ कसैका विरुद्ध उसलाई कुनै गुनासो छैन । आयुष्कालको दीर्घता नै जीवनमा यति ठूलो सत्य हो भन्ने उसलाई लाग्दैन ।
शरच्चन्द्रले खडा गरेको त्यो नायिकाको चरित्रको हिमशैल मेरो मानसपटलमा अहिले पनि उस्तै अटल बनेर रहेको छ ।
रवीन्द्रनाथ ठाकुर, निर्मल वर्मा, महादेवी वर्मालगायत लेखक पढेपछि भारतीय साहित्य अध्ययन लामै समय झन्डै हरायो । कारण थियो अंग्रेजी पुस्तकमाथिको पहुँच । डिएच लरेन्स प्रिय लेखक बने । सदावाहरजस्तै । इट्स, किट्स, शेली, गुस्ताब फ्लबर्ट, मिलान कुन्देरा, दोस्तोयब्स्की, टोल्सटोयजस्ता विश्व साहित्यका सर्जकहरूका पुस्तक पहिलोपटक पढ्दाका दिन अद्भुत थिए । वर्णनातीत । दिन बितेको पत्तो हुँदैनथ्यो । म आफूलाई ती दिग्गज स्रष्टाहरूको साहित्यिक दुनियाँमा पाउँथेँ । मेरो सामु बाँकी संसार अलि होचै देखिन्थ्यो ।
विश्व साहित्य
पुस्तक अध्ययनको कालखण्डमा छुटाउनै नहुने पुस्तक केही छन् । जस्तो नित्सेको ‘दस स्पेक जराथुस्त्र,’ ‘वियोन्ड गुड एन्ड इभिल,’ ‘ट्विलाइट आफ द आइडोल,’ खलिल जिब्रानको ‘द प्रोफेट,’ फ्रेन्ज काºकाका ‘द ट्रायल,’ ‘द क्यासल’ र ‘अमेरिका’जस्ता उपन्यासहरू, विल डुराँको ‘द स्टोरी अफ फिलोसफी,’ दोस्तोयब्स्कीको ‘ब्रदर्स कारामाजोभ,’ ‘क्राइम एन्ड पनिस्मेन्ट,’ ‘द इडियट,’ लियो टोल्सटोयको ‘अन्ना कारनिना,’ र नेपाली परिवेशमा पारिजात, शंकर लामिछाने र दौलतविक्रम बिस्टका कृतिहरू । यी पुस्तकहरूमा जीवनवादी दृष्टिकोण भरपुर पाइन्छन् । साथसाथै जीवन

र जगत्का धेरै रहस्यसित मुखामुख गर्न पाइन्छ वास्तविक साहित्यसित परिचय हुन्छ । उल्लिखित कृतिहरूलाई अब शास्त्रीय पुस्तक भने हुन्छ । पछिल्लो समयमा देश—दुनियाँ धेरै अगाडि बढिसकेको छ । उदीयमान लेखकहरूले बजार पिटिराखेका छन् । साहित्यको पछिल्लो ट्रेन्डको क्रमबद्ध व्याख्या गर्ने यो आलेखको आशय होइन । साहित्य समीक्षक छँदै छन्, उनीहरू त्यो काम गर्लान् । यही आलेख फरक परिवेशमा लेखेको भए बेग्लै हुन सक्थ्यो ।
कोही एक व्यक्तिले जति नै सोचीविचारी उल्लेख्य पुस्तकहरूको सूची बनाए पनि त्यो अपूर्ण हुन अभिशप्त छ । अस्तित्व मानौँ एक विशालकाय भवन हो र यसलाई हेर्ने व्यक्तिले भवनको एउटा पाटो मात्रै देखेको हुन्छ । त्यही हिस्सालाई सम्पूर्ण भवन यही हो भन्न थाल्नु आºनै अज्ञानलाई प्रकट गर्नु हो । पुस्तकको दुनियाँ पनि सायद यस्तै हो । यो यति विशाल छ, यसलाई पूरै पिउन या समीक्षा गर्न सायदै कसैको वशको कुरा हुनसक्छ ।
विश्व साहित्यको सक्रिय अध्ययन गर्दाताका मलाई आइन्सटाइन स्वयं मूर्ख रहेछन् भन्ने लाग्यो । आइन्सटाइनले भनेका थिए– मान्छेको मूर्खताको सीमा छैन, ब्रह्माण्डको विशालताको सीमा छैन । अत्यन्त प्रखर बुद्धिका वैज्ञानिकले यस्ता सुन्दर कृतिहरू पढेका रहेनछन् कि क्या हो ? किन मान्छेलाई मूर्ख भने होलान् ? आइन्सटाइनको वचनको अर्थ बुझ्न एकांगी ढंगले विश्व साहित्य पढेर मात्र पुग्दोरहेनछ । यो हेक्का मलाई धेरै पछि भयो जब मैले अध्ययनको बृहत्तर आयाम बारे बुझेँ ।
समाजको अध्ययन
अध्ययन गर्ने मुख्य तीन पद्धति या विधा छन्— पुस्तक, समाज र स्वयंको अध्ययन । यी तीनै विधाको सांगोपांगो अध्ययनबाट मात्र मानिसमा अलिक फराकिलो दृष्टिकोण बन्न सक्छ । पुस्तक मात्रै पढेको र समाजमा अधिक घुलमिल नभएको, सामाजिक जीवनमा सक्रिय नभएको व्यक्तिको ज्ञान कोरा हुन्छ । यो जगजाहेर कुरा हो । विश्वविद्यालयका अधिकतर शिक्षकहरू यही रोगबाट आक्रान्त भेटिन्छन् । आफूलाई सबथोक जान्ने भन्ठान्छन्, सोच्छन् समाजले हाम्रो उचित कदर गर्दैन । तिनीहरू व्यावहारिक हुनको साटो झन्—झन् सिद्धान्तवादी बन्छन् । नित्सेले तिनका बारे सटिक टिप्पणी गरेका छन्— दे आर लाइक एग्जस्टेड चिकन । तिनीहरू फूल पारेर थाकेको पोथीजस्तै हुन्छन् । सिद्धान्तको दुनियाँमा हराउँछन् । । तिनलाई आख्यान वास्तविक लाग्छ र वास्तविकता आख्यान जस्तो । तिनीहरू यथार्थको दुनियाँमा अकडो भएर प्रस्तुत हुन्छन् ।
विभिन्न संघसंस्थामा आबद्ध भएर, सामाजिक कार्यमा जुटेर, देशविदेशको राजनीतिक, सामाजिक घटनाक्रमप्रति जानकार रहेर, आम चासोका विषयमा चिन्तन—मनन एवं बहसमा सहभागी भएर मानिसले समाजको अध्ययन गर्न सक्छ । समाज अध्ययन एक अपरिहार्य पाटो हो । अन्यथा मानिस कुवाको भ्यागुतोजस्तै हुन्छ । न त उसलाई आफू शोषित भएको थाहा हुन्छ न आफूले ठीक वा गलत के गर्दैछु बझ्न सक्छ । राहुल सांकृत्यायनको ‘मानव समाज,’ ‘वोग्ला से गंगातक,’ ‘दर्शन—दिग्दर्शन,’ भिक्टर आºनासायेभको ‘दर्शनशास्त्रको प्रारम्भिक ज्ञान,’ जस्ता पुस्तकले समाज बुझ्न मदत गर्छन् । बेन्जामिन फ्रेंकलिन, महात्मा गान्धीका आत्मकथा र हाम्रो सन्दर्भमा चैतन्य मिश्रका निबन्ध संग्रहहरू समाज बुझ्नमा अधीक उपयोगी छन् ।
स्वयंको अध्ययन
यसबाहेक अध्ययनको अर्को बृहत्तर क्षेत्र छ त्यो हो स्वयंको अध्ययन । पूर्वीय मनीषीहरूले स्वाध्यायलाई अत्यधिक महत्त्व दिएका थिए । ‘स्वाध्यायान्माप्रमदितव्यम’् । स्वाध्याय गर्न बिल्कुलै अल्छी नहोऊ । स्वाध्याय अर्थात् स्वयंको अध्ययन् । मानिस आफूभित्र एउटा विशाल साम्राज्य हो, एक अलग्गै संसार हो । अन्तरमनको यात्रामा जतिजति अगाडि बढ्छ मानिस उतिउति उसलाई आºनै अस्तित्वका रहस्यहरू, पहेलीहरू र मोडहरू थाहा पाउँछ । अक्सर मानिस आºनो शरीरलाई खुवाउन पियाउन र सिंगार्न मै जीवन गुजार्छन् । पशु पनि यसैगरी इन्द्रिय सुखको जीवन बिताउने गर्छन् । मीठो खाना र सहबास । इन्द्रियको सीमाभन्दा माथि उठ्न सक्ने मानिसले अन्तरमनको यात्रा गर्छ सक्छ ।
अन्तरमनको यात्रामा एउटा मोड आउँछ, मनभन्दा परको दृश्य देखिन्छ । बुद्धिको संसार । बुद्धिले मनलाई नियन्त्रित गर्न, शासन गर्न सक्छ । अर्को मोडमा पुगेपछि बुद्धि पनि ओझेल पर्छ । जसलाई हिन्दूहरू आत्मा भन्छन् । गौतम बुद्धले आत्मा भन्नेजस्तो केही हुँदैन, केवल चेतनाको अस्तित्व हुन्छ भन्छन् । जे होस्, चेतनाको झलक पाएपछि मानिस मौनमा रमाउन सक्छ । सन्नाटाको संगीत सुन्न सक्छ । हरेक वस्तुमा अस्तित्वको निपट सौन्दर्य देख्न सक्छ । जीवनको लयबद्धता देख्न सक्छ ।
स्वाध्यायन अर्थात् स्वयंको अध्ययन गर्न आध्यात्मिक पुस्तकले मद्दत गर्छन् । स्वामी रामतीर्थ, विवेकानन्द, जे कृष्णमूर्ति, रजनीश, दलाइ लामा, म्याथु रिकार्ड, एसएन गोयन्का, कार्ल गुस्ताभ युंग र पछिल्लो समयका रविशंकरका पुस्तक आध्यात्मिक कृति हुन् । जे कृष्णमूर्तिको ‘फ्रिडम फ्रम द नोन,’ ‘द फस्ट एन्ड लास्ट फ्रिडम,’ रजनीशको ‘सम्भोगसे समाधि तक,’ ‘शिक्षा में क्रान्ति,’ ‘मैं मृत्यु सिखाता हुँ’ र रविशंकरको ‘मौन उत्सव’ पठनीय छन् । यी पुस्तकमा हामी कस्तो कन्डिसनिङमा हुर्किरहेका छौँ, हामी आफूलाई स्वतन्त्र भन्ठान्छौँ तर परिवार, शिक्षक, समाज, राजनीतिज्ञ, धर्मगुरुहरू र पुँजीवादी अर्थव्यवस्थाद्वारा सञ्चालित मिडियाले कसरी हाम्रो विचार प्रणालीमाथि हस्तक्षेप गरिराखेका हुन्छन्, कसरी दिनानुनिद नजानिँदो पाराले हाम्रो ब्रेन वास भइरहेको छ भन्ने हेक्का दिलाइदिन्छन् । म्याथु रिकार्डको ‘द ह्यापिनेस,’ ‘अन मेडिटेसन’ नामका पुस्तक र एसएन गोयन्काका प्रवचनहरू एवं विपश्यनासम्बन्धी खोजमूलक ग्रन्थहरू स्वयंको अध्ययनमा रूपान्तरणकारी हुन सक्छन् ।
शास्त्रीय ग्रन्थहरू ‘सांख्य दर्शन,’ ‘योग दर्शन,’ ‘उपनिषद्हरू,’ ‘गीता,’ ‘धम्मपद,’ ‘बोधिचर्यावतार’ एकपटक पढ्नै पर्ने कृति हुन्, स्वाध्ययनको लागि । यद्यपि वर्तमान युगमा शास्त्रीय ग्रन्थहरू बिरलै मानिसले पढ्दा हुन् । शास्त्रीय ग्रन्थहरूको बारेमा एक प्रचलित भनाइ छ, ‘यी पढ्न पर्छ भन्ने सबैलाई थाहा छ तर कोही पढ्दैन ।’
यदि तीन दिनसम्म कुनै किताब नपढ्ने हो भने बोलीमा बासी कुराको गन्ध आउन थाल्छ रे । यो उक्ति साँचो हुन्थ्यो भने घर बाहिर निस्किनसक्नु हुनुपर्ने हो, मानिस गन्हाएर । किनकि अचेल पढ्ने फुर्सद कमैलाई होला । बिहान कति कमाइ भयो, दिउँसो र भरेसम्म कति होला; यसरी अधिकसे– अधीक अर्थोपार्जन वर्तमान युगको आम चिन्ताको विषय हो ।
स्वाभाविक रूपले आज–भोलि लेखक धेरै भएका छन्, पाठक कम । एउटा आँकडाअनुसार दिनमा दश हजार पुस्तक छापिन्छन् रे † यही दरले पुस्तक छापिँदै गएमा केही वर्षमा पुस्तक आम समस्याका वस्तु हुनेछन् । (अहिले नै घरमा पुस्तक नअटाएर कतिलाई समस्या भएको हुनुपर्छ ।) र अन्त्यमा,
अष्टावक्रको आवाज
अष्टावक्र आमाको गर्भमै थिए । एक दिन पिताजीले वेद पाठ गर्दै गरेको सुने । अष्टावक्रले गर्भबाटै भने, ‘पिताजी, बन्द गर्नुहोस् वेदको पुस्तक । वेद सब बकबास हो । पुस्तकमा ज्ञान कहाँ हुन्छ ? शास्त्रहरू त मृत हुन्छन्, शास्त्रमा ज्ञान कहाँ पाइन्छ ? ज्ञान त स्वयंमा हुन्छ । स्वयंको अध्ययन गर्नुहोस् ।’
पिताजी कट्टर वेदान्ती थिए । अझै नजन्मिसकेको पुत्रले गर्भबाटै आफूलाई उपदेश दिँदै छ ? पिताजीलाई यो सैह्य भएन । उनले पुत्रलाई श्राप दिए, आमाको पेटबाट बाहिर नआउँदै तँलाई यत्रो घमण्ड ? तेरो बुद्धि अहिल्यैदेखि अकडो भएछ । तँ जन्मँदा तेरो शरीर पनि टेढोमेढो हुनेछ । पिताजीको यही श्रापले अष्टावक्र जन्मँदै आठ ठाउँमा टेढोमेढो शरीर लिएर जन्मिए ।
निश्चय नै, पुस्तकमा ज्ञान हुँदैन । ज्ञान स्वयंमा हुन्छ । तर, यत्ति थाहा पाउन पनि पुस्तक त पढ्नै पर्छ सायद । अर्को उपाय आजसम्म फेला परेको छैन ।
[email protected]

प्रतिक्रिया