झेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स्

roshan_sherchanजीवनमा एउटा मात्र किताव पढिँदैन न त एकै खालको किताव मात्र पढिन्छ । स्वदेशी लेखकको मात्र पनि पढिँदैन । न त विदेशी लेखकको मात्र पढिन्छ । धेरै लेखक फरक फरक कारणले मन पराइन्छन् । एउटा किताब मात्र मन पराइन्न कारण पाठकले खोजेको सबै कुरा एउटा पुस्तकमा मात्र पाइँदैन । त्यस्तै यथार्थबीच, रोबर्ट एम पिरसिगको ‘झेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स्’ मलाई अत्यन्त मन परेको एउटा किताब हो ।
यो किताबको रोचक पक्ष– यसको पाण्डुलिपि सर्वाधिक १२१ पटक अस्वीकृत हुनु । तसर्थ प्रकाशित हुनुपूर्व गिनिज बुक्स अफ वल्र्ड रेकर्डमा सर्वाधिक असफल पाण्डुलिपिका रूपमा यसले ठाउँ बनायो । १२२औँ पटकमा भने यसले प्रकाशनको मुख देख्न पायो । सन् १९७४ मा । कस्सो, लेखक रोबर्ट एम पिरसिग अत्यन्त धैर्यवान रहेछन् । यदि, उनी अधैर्य स्वभावको हुन्थे भने, लगातारको अस्विकृतिबाट दिक्क मान्दै पाण्डुलिपि मिल्काइसक्थे वा हतास भई आत्महत्या गरिसक्थे । र, विश्वभरका पाठक यस्तो श्रेष्ठ कृति पढ्नबाट वञ्चित हुन्थ्यो । तर, हाल स्थिति अर्कै छ । दर्शन, अध्यात्म, झेन् र विज्ञानको विषयमा लेखिएको यो पुस्तक ५० लाखभन्दा बढी बिकिसकेको छ । सर्वाधिक अस्वीकृत पाण्डुलिपिको किताब त्यति धेरै बिक्री हुनु पनि किताबको झेन चरित्र नै होला ।
पढन्ते मित्र विपिन भट्टचनले सुझाएपछि यो पुस्तक पढेको थिएँ । आरम्भमा ‘झेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स्’ शीर्षक नै उटपट्याङ लाग्यो तर पढ्दै गएपछि शीर्षकको सान्दर्भिकता खुल्दै आयो । यो किताब न त झेनजस्तो विशुद्ध आध्यात्मिक छ, न त मोटरसाइकल मेन्टेनेन्स्जस्तो तार्किक । बरु पूर्वीय अध्यात्मवाद, रहस्यवाद र पश्चिमेली विज्ञान र वुद्धिवादबीचको छ । तिनीहरूको संयुक्तिजस्तो छ । पारपाचुके
(स्प्लिट) भएको भनिएको पूर्वीय अध्यात्मवाद, रहस्यवाद र पश्चिमेली विज्ञान र बुद्धिवादको अन्तरसम्बन्धलाई निरूपण गर्न लेखक १७ दिने मोटरसाइकल यात्रामा छोरालाई लिएर निस्कन्छ, अमेरिकाको मिनेपोलिस, मिनेसोटा हुँदै क्यालिफोर्नियाको यात्रामा । लेखकले भौतिक यात्रा र चिन्तनगत यात्रा सँगै गर्छ ।
प्रथम पुरुषमा लेखिएको भए पनि पुस्तकमा लेखक दृश्य रूपमा आउँदैन बरु लेखकको स्थानमा फायद्रस नामक पात्र देखा पर्छ । के फायद्रस लेखकको प्रतिविम्ब हो ? शंका गर्न सकिन्छ । ऊ कलेजमा सिर्जनात्मक कला र प्राविधिक विषय पढाउँछ । राम्रोपन ?
(गुड) वा गुणवत्ता (क्वालिटी) भनेको वास्तवमा के हो ? त्यसका अवयवहरू (कन्सिचुयन्ट इलिमेन्ट) के के हुन ? भन्ने चिन्तनमा ऊ धेरै घोत्लिन्छ र दर्शनचिन्तनको यात्रामा चुर्लुम्म डुब्छ । दर्शनको परम्पराहरूमा दृश्यगोचर हुने पूर्ववत्र्ती दार्शनिकहरूसँग वैचारिक घर्षण गर्दै जान्छ । निरन्तरको सघन मानसिक दवावले ऊ विक्षिप्त हुन्छ र उपचारका क्रममा करेन्टको झट्कासम्म लगाउनुपर्ने स्थिति आइलाग्छ । यहीँनेर पुस्तकले उत्पन्न गर्ने भयले पाठकलाई बेस्कन जकड्छ ।
पिरसिगले चार वर्ष लगाएर लेखेको यो किताब पहिलोपटक पढ्दा म ठिटो थिएँ । सायद बिस–एक्काइस वर्षको । ओशोको किताबहरूको सघन दबाब उत्रन नपाउँदै अर्को जबरजस्त धक्का यसले दिएको थियो । किताब भनेको त यस्तो पो † मैले मनमनै सोचको थिएँ । पढ्दा त यसको प्रभाव यति शक्तिशाली, लेखक रचनागर्भको समयमा कति यातनाको दबाबवाट गुज्रियो होला ? सोचेर तर्सिएको थिएँ । भैरहवाको गर्मीमा म थप रन्थिनिएँ । त्यसवेलाको अपेक्षाकृत काँचो मस्तिष्कमा कितावको प्रभाव अहिलेको भन्दा दशौं गुणा बढी थियो । पठनको सघन दबाब र तीनपानेको संयुक्त प्रभावमा मैले एकपटक लेखक खगेन्द्र संग्रौलालाई पोखराबाट फोनमा भनेको सम्झन्छु– ‘दाइ, झेन एन्ड द मोटरसाइकल मेन्टेनेन्स् को नेपाली अनुवाद तपाईंले गर्नुहोस्, अन्य बन्दोवस्त म मिलाउँछु ।’ कवि रमेश केसीले ०५१ मा यू.जी कृष्णमूर्तिको जीवनी र वार्ताहरूको सँगालो ‘अविचार’को सम्पादन गरेका थिए । अविचारमा विलियम फब्र्स र फ्रयांक नोरान्हको लेखहरूको अनुवाद संग्रौला दाइले गर्नुभएको थियो । ती अनुवाद लेख पढेपछि यसको अनुवाद पनि उहाँबाटै हुनुपर्छ भन्ने सोच पलायो । तीनपानेको असर उत्रेपछि अनुवादको विचार पनि उत्रियो । मैले फलो अप गर्न सकिनँ । अनुवादको भूतसवार सम्झिँदा हाँसो उठ्छ अहिले ।
अमेरिकाको विभिन्न स्थानको मनोरम वर्णन, छोरा र साथीसँगको वार्तालाप र बाटामा उनले गरेका चिन्तनले पाठकलाई प्रभावित गर्छ । पाठकलाई विस्तारै विचारको विशद् उपत्यकामा सहयात्री बनाई कुशलतापूर्वक लग्न सक्नु लेखकको सामथ्र्य हो । यात्राको वर्णन अनौपचारिक, कुतूहलपूर्ण र शक्तिशाली छ । फायद्रसले वैचारिक यात्रामा क्वालिटी को अवधारणालाई उत्खनन गर्ने कठोर प्रयास गर्छ । ग्रिसेली दार्शनिक हेराक्लाइटिस, सेक्रेटस, प्लेटो, अरस्तु आदिका परम्परा छिचोल्दै झेन् बुद्धिज्म्सम्म आउँछ । दर्शन र विचारको परम्परासँग ऊ एकैसाथ प्रेम र घृणाको द्वन्द्वात्मक सम्बन्ध राख्छ । लेखकको तर्क छ–क्वालिटीलाई अनुभव गर्न त्यसलाई त्यसको सम्पूर्णतासहित अपनाउनुपर्छ र परिवेशअनुसार प्रयोग गर्नुपर्छ । ग्रिसेली दर्शन र पूर्वीय अध्यात्मवादको सामान्य ज्ञान नभएको पाठकलाई किताब फलामको चिउरा साबित हुन सक्छ । यो किताब कदाचित सजिलो छैन ।
मोटरसाइकलका पार्टपुर्जाको आकार, नाप र प्रयोजनको सूक्ष्म विश्लेषण पढ्दा कलात्मक म्यानुअल पढेजस्तो लाग्छ । टुक्रा–टुक्रीमा निर्जीव प्रतित हुने पार्टहरू प्रणालीमार्फत एकआपसमा जोडिएर जीवित बन्छ । त्यस्तो प्रभाव सम्प्रेषण गर्न सक्नु लेखकको सामथ्र्य हो । किताबको कभर पनि अर्थपूर्ण छ । कभरमा पेन्चिसबाट फूल उम्रिएको चित्र देखाइएको छ । हेर्न जानेमा, निर्जीव फलामे औजारमा पनि सौन्र्दयको फूल फुलाउन सकिन्छ भनेको होला, म अनुमान लाउँछु ।
किताबको वर्णन, तर्क, विवेचना पढ्दा चकित भएँ । मैले कल्पनामा पनि सोच्न सकेको थिइनँ, कसैले यसरी सोच्न र लेख्न सक्छ । पाठकले कल्पनामा पनि सोच्न नसकेको कुरा, लेखकले पुस्तकमा लेखेर पाठकलाई दिनु महत्त्वपूर्ण संघटना हो । लेखकको मत अनुसार हामीलाई अब अतर्कवादी जीवनदृष्टिकोण (झेन–दृष्टिकोण) जसको जगमा विवेक हुन्छ र तर्कवादी जीवनदृष्टिकोण जसको जगमा विज्ञान र तर्क हुन्छ, दुवै चाहिएको छ । मूल्य–निरेपक्ष विज्ञानको पछाडि मात्र दौडिँदा जीवन दु:खपूर्ण हुन्छ । आधुनिक जीवन दु:खी र पीडादायी हुनुको पछाडि, यही पारपाचुकेले काम गरेको छ ।
किताबमा अमेरिकाको विविधतापूर्ण ल्यान्डस्केपको मनोरम वर्णन छ । खुला चरणक्षेत्र, फराकिलो उपत्यका, घुमाउरो बाटा प्राय: बाहिर र आन्तरिक दुवै यात्रामा भेटिने गर्छ । इच्छित विचारको गन्तव्य भेटाउन, हाईवेलाई छाडेर, चरण क्षेत्र, हिमाली दुर्गम बाटातिर लाग्नुपर्छ । अरू हिँडिसकेको बाटो हिँडेर गन्तव्य भेटिँदैन । ‘द रोड नट टेकन’ मा पनि कवि रोवर्ट फ्रस्टले यस्तै आशय व्यक्त गरेको थियो । अग्लो देउरालीबाट तल देखिने फराकिलो विचारको उपत्यका हेर्नुको आनन्द अनुपम छ– अवर्णनिय । लेखक पिरसिगले एक ठाउँमा भनेका छन्– हिमालको शिखरमा भेटिने झेन यात्रीले फेदबाट बोकेर आफूसँग लगेको झेन नै हो । अर्थोक झेन होइन ।
प्रमुख पात्रको जीवनशैली असहज छ । अस्वाभाविक पनि । पूर्वीय अध्यात्म र पश्चिमेली ज्ञान र दर्शनको गम्भीर अध्येता बाँच्नकै निम्ति युनिभर्सिटीमा पढाउँछन् । र, प्राविधिक रिपोर्ट लेख्छन् । छोटो समयका निम्ति सैनिकको जागिर पनि खान्छन् । ऊ नराम्ररी पिल्सिन्छन्– बाँच्नै पर्ने सामयिक बाध्यता र खोज्नै पर्ने सार्वभौम सत्यको चेपमा । छोरा क्रिससँग बुबाको अनौपचारिक वार्तालापले हृदय छुन्छ । तर, उनी क्रिसको असल बुबा बन्न असफल हुन्छन् ।
धेरै वर्षपछि, विक्रमाब्द ०५४ तिर म्याग्दीको सुन्दर बस्ती नारच्याङ बेसीमा यो किताब दोहोर्‍याएर पढेँ । म त्यसताका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा काम गर्थें । फिल्ड जाँदा सधँै एक, दुई किताब बोक्ने गर्थें । पारिलो घाम लाग्ने मगर वस्ती नारच्याङमा लेकबाट खस्ने विछट्टैको सुन्दर झरना छ । हिउँदमा नारच्याङ लेक हिउँले पुरिन्छ तसर्थ सम्पूर्ण गाउँले लेकलाई रित्तै बनाएर बेसी झर्छ । लेक प्रकृतिकै जिम्मामा छाडिन्छ । बेसीमा कालीगण्डकीबाट बहने चिसो हावाले आलु, मकैका हरिया पात हल्लाइरहेको देख्न सकिन्छ । अन्नपूर्ण हिमालवाट गडगडाउँदै बग्ने मिस्त्रीखोला र माथिल्लो मुस्ताङबाट बग्ने कालीगण्डकीको संगमस्थान नारच्याङमा, पूर्वीय र पश्चिमेली विचारहरूको संगम भएको ‘झेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स्’ पढ्नु पनि संयोग नै हो । तातोपानी बजार धमिलो आकृतिजस्तो देखिन्छ– खोलापारि । तातोपानी जहाँ म जन्मेँ, आज त्यसै बस्तीको छेउमा आफूलाई मन परेको पुस्तक पढिरहेको छु । कस्तो अनुपम संयोग ?
पिरसिग जिनियस लेखक हो । हृदयलाई स्पर्श गर्नेभन्दा पनि मस्तिष्कलाई हल्लाउने किताब छनोट गर्ने हो भने यो धेरै सुहाउँदो पुस्तक हो । पाठकले आºनो बौद्धिक क्षमता अनुसार किताबको सार ग्रहण गर्ने हुनाले प्रभाव सापेक्षिक नै हुन्छ । तर, भन्न सकिन्छ, ‘यो किताब पढेपछि जीवन, जीवन दर्शन र पाठकले आºनोबारे केही न केही पक्कै थाहा पाउँछ ।

प्रतिक्रिया