तीर्थयात्रा गएका १ सय ७६ नेपाली सम्पर्कमा आए

काठमाडौं, ८ असार । परराष्ट्र मन्त्रालयले भारतको केदारनाथ, बद्रीनाथ, गंगोत्री, यमुनोत्री गएका नेपाली तीर्थयात्रीमध्ये १ सय ७६ जना सम्पर्कमा आएको जनाएको छ ।

भारत गएका करिब ४ सय नेपाली तीर्थयात्रीमध्ये शुक्रबार थप २९ जनालाई भारतीय उद्धार टोलीले हेलिकोप्टरबाट उद्धार गरी ऋषिकेश ल्याएको परराष्ट्रले जनाएको छ । भारतको नेपाली दूतावासबाट उद्धारका लागि दुईजना कर्मचारीलाई खाद्य सामग्रीसहित हरिद्वार, देहरादुन र तेह्रीतर्फ पठाइएको मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले बताए ।
भारतले तीर्थयात्रीको उद्वारका लागि २२ वटा सरकारी १४ वटा निजी गरी ३६ वटा हेलिकोप्टर प्रयोग गरेको र नेपालीको उद्धारका लागि निरन्तर सहयोग गर्ने भारतले आश्वासन दिएको परराष्ट्रले जनाएको छ ।
मन्त्रालयले पुष्प बस्नेतको टोलीका १४ तीर्थयात्री नेपाल फर्कने क्रममा बाटोमा रहेको जनाएको छ । त्यस्तै, दिल्लीस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा बाढीका कारण केदारनाथ क्षेत्रमा ठूलो क्षति पुगेको र मोटरबाटो तथा पुलहरू भत्केकाले उत्तराखण्ड सरकारको पहल र समन्वयमा हेलिकोप्टरबाट तीर्थयात्रीको उद्धार भइरहेको जनाएको छ ।
पहाडी भेगमा ठूलो क्षति भएको तथा मौसम पनि बिग्रिरहेका कारण उद्धार कार्यमा समस्या आएको विज्ञप्तिमा उल्लेख छ । उद्धार कार्य अझ केही दिनसम्म चलिरहने उसले जनाएको छ ।
४८ नेपाली तीर्थयात्री हरिद्वार आइपुगेको र अन्य करिब ७० जना तेह्रीमा रहेको सुरक्षित स्थान हँुदै आ–आफ्ना घरतर्फ फर्कंदै गरेको अवस्था रहेको दूतावासले जनाएको छ । उद्धार कार्यको प्रगति बुझ्न, उद्धार कार्यमा संलग्न अधिकारीहरूसँग समन्वय गर्न तथा नेपाली तीर्थयात्रीहरूलाई प्रत्यक्ष रूपमा भेटी वास्तविकता बुझ्न दूतावासबाट २ जनाको टोली शुक्रबार नै हरिद्वार, देहरादुन र तेह्रीतर्फ पठाइएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया