‘संविधानसभापछि स्थानीय चुनाव’

sushilजनकपुर, ७ असार । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधानसभाको निर्वाचनपछिको दुई महिनामा स्थानीय स्तरको चुनाव हुने बताएका छन् । मंसिर ४ गते संविधानसभाको चुनाव हुने भएपछि अब स्थानीय स्तरको चुनावका लागि पनि सोच्नुपर्ने उनले बताए ।
सभापति कोइरालाले ४ दलको बैठकको निर्णयअनुसार संविधानसभा सदस्यको संख्या ४९१ निर्धारित भएका कारण अब यसमा थपघट  गर्नु दिवालियापन हुने बताए ।
प्रेस युनियन धनुषा शाखाले बिहीबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विगत १५ वर्षदेखि स्थानीय निर्वाचन  नहुँदा विकास निर्माणको  अर्बौं बजेट नाश भएको बताए । ‘अब जनता  पनि चुनावका लागि आतुर तथा चिन्तित छन्,’ उनले भने ।
नेपाल प्रेस युनियन धनुषा शाखाका अध्यक्ष प्रवीण साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले जनता, छिमेकी मुलुक तथा अन्तराष्ट्रिय जगत्बाट दबाब बढेकाले अब चुनावको विकल्प नरहेको बताए । संघीयताको पक्षमा कांग्रेस सकारात्मक रहे पनि एमाओवादी  र मधेसवादी दलहरूले जनतामा कांग्रेसविरुद्ध भ्रम फैलाएको उनले आरोप लगाए ।
अगामी चुनावलाई सफल पार्न नेपाली कांग्रेसले सम्पूर्ण दलसँग  छलफल गरिरहेको  बताउँदै सभापति कोइरालाले नेकपा–माओवादीबाहेक अन्य दल निर्वाचन आयोगमा दर्ता भइसकेकाले उनीहरू पनि चुनावमा सहभागी  हुने सम्भावना प्रवल रहेको बताए । नेपाली कांग्रेसको तराईसँग पुरानो सम्बन्ध रहेकाले  अबको  चुनावमा तराईमा नेका दुई तिहाई मतले विजयी  हुने उनले दाबी गरे ।

प्रतिक्रिया